• गृहपृष्ठ
  • तीन महिनामा एक अर्ब ८६ करोड ६५ लाखको फलफूल भारतबाट आयात

तीन महिनामा एक अर्ब ८६ करोड ६५ लाखको फलफूल भारतबाट आयात

Nov 27th, 2023

काठमाडौ १० मंसिर
चालू आर्थिक वर्षको तीन महिनामा रु एक अर्ब ८६ करोड ६५ लाख ६३ हजार मूल्यबराबरको ३६ हजार सात सय ३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ।

यसैगरी उक्त अवधिमा काँकडभित्ता नाकाबाट दुई करोड ५९ लाख ९२ हजार मूल्यबराबरको तीन सय ६१ मेट्रिक टन चना, रु नौ करोड २२ लाख चार हजार मूल्यबराबरको एक हजार ३६ मेट्रिक टन मुसुरो दाल, रु १२ करोड ८६ लाख मूल्यबराबरको एक हजार दुई सय ८६ मेट्रिक टन लसुन र ९८ लाख ५६ हजार मूल्यबराबरको छ सय १६ मेट्रिक टन उखु भारतबाट आयात भएको छ।

पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै ३८ करोड ३१ लाख ८७ हजार दुई सयबराबरको व्यापार घाटा भएको छ। पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ।

नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा छन्। यीमध्ये सबैभन्दा बढी नौ करोड ५४ लाख ७२ हजार मूल्यबराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको छ । तरकारीमा गोलभेँडा रु पाँच लाख १२ हजार मूल्यबराबरको २६ मेट्रिक टन र पाँच लाख ८९ हजार मूल्यबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ। धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ।

सोही अवधिमा नेपालबाट ९ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबराबरको ६ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए।

चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेँडा मात्रै रु १९ करोड ३७ लाख ४० हजार मूल्यबराबरको नौ हजार छ सय ८७ मेट्रिक टन आयात भएको छ।

नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ। प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा रु २३ करोड ६१ लाख ६० हजार मूल्यबराबरको चार हजार नौ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ।

सोही अवधिमा भारतबाटै रु ९९ करोड ८९ लाख चार हजार मूल्यबराबरको ४१ हजार छ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ।