• गृहपृष्ठ
  • हमासद्वारा थप १३ इजरेली र चार थाई नागरिक रिहा

हमासद्वारा थप १३ इजरेली र चार थाई नागरिक रिहा

Nov 26th, 2023

काठमाडाै ९ मंसिर

गाजामा इजरेल-हमासबीच सङ्घर्षविराम चलिरहँदा थप १३ जना इजरेली र चार जना थाई बन्धकहरू रिहा गरिएका छन्।

यसअघि इजरेलले गाजामा पठाइएका मानवीय सहायता सामग्री रोकेको भन्दै हमासले उनीहरूलाई मुक्त गर्न ढिलाइ गरेको थियो। कतार र इजिप्टको मध्यस्थतापछि उनीहरूलाई मुक्त गर्न सहमत भएको हमासले उनीहरूलाई रेडक्रस समक्ष हस्तान्तरण गरेको हो।

कतारले मध्यस्थता गरेको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरेली बन्धकहरूको तेबर सङ्ख्यामा इजरेलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ।

द्विपक्षीय सहमतिअनुसार शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ बन्धकलाई मुक्त गरेको थियो भने इजरेलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएर लगेको थियो।

त्यसयता इजरेलले गरेको हमलामा १४,५०० जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दुवै पक्षले युद्ध नसकिएको भन्दै लडाइँ पुनः सुरु हुने बताए तापनि अमेरिकी राष्ट्रपति जो बाइडनले अस्थायी युद्धविराम लम्बिन सक्ने वास्तविक सम्भावनाहरू रहेको बताएका छन्। 

इजिप्टले समेत दुवै पक्षबाट अस्थायी युद्धविराम ‘एक वा दुई दिनले’ लम्बिन सक्ने ‘सकारात्मक सङ्केत’ पाएको जनाएको छ। बिबिसी