• गृहपृष्ठ
  • आफन्तबाटै अपराधः कसरी हुन्छ लैगिक हिंसामुक्त समाजको स्थापना ?

आफन्तबाटै अपराधः कसरी हुन्छ लैगिक हिंसामुक्त समाजको स्थापना ?

Nov 26th, 2023

काठमाडौ ९ मंसिर

महिला तथा बालबालिका विरुद्ध हुने विभिन्न हिंसा तथा यौनदुव्र्यवहारका अधिकांश घटना नाता–सम्बन्ध र चिनजानका व्यक्तिबाटै हुने गर्छ । प्रहरीको तथ्यांक अनुसार ८८.२ प्रतिशत नाता–सम्बन्ध र चिनजानका व्यक्तिहरु नै यस्ता घटना भैरहेका छन् । प्रहरीको एक वर्षको अध्ययन र विश्लेषणले नाता–सम्बन्धबाटै भएका यौनजन्य हिंसाका घटनाको भयानक चित्रण गरेको छ ।

प्रहरीले एक वर्षमा ८८.२ प्रतिशत अर्थात् तीन हजार दुई सय ४३ जना चिनजानका अभियुक्तलाई पक्राउ गरेको छ । जसमा आठ सय १० जना पारिवारिक नातासंग जोडिएकै व्यक्ति छन् । यसैगरी ६२ श्रीमान्, नौ सय ५३ जना छिमेकी, ६७ जना शिक्षकहरुले महिला तथा बालिकाविरुद्ध यौनजन्य हिंसा गरेका छन् । कुल आरोपितमध्ये चार सय ३५ जना मात्र अपरिचित रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

हामीले सबैभन्दा सुरक्षित ठान्दै आएका नजिकका आफन्त तथा नातागोता नै पीडक भएपछि महिला तथा बालबालिकाको लागि सुरक्षित घर तथा समाजको स्थापना गर्न ठूलो चुनौति भएको छ । साथै यस्ता घटनाले सुरक्षित, सभ्य र नैतिकवान् समाज निर्माणमा महिला तथा बालबालिकाको सुरक्षामा आफन्तहरू नै तगारो बनेको देखाएका छन् ।

त्यस्तै हिंसामुुक्त समाजको स्थापना गर्नु पनि आर्को टाउको दुखाईको विषय भएको छ । किनभने एक वर्षमा देशभर लैङ्गिक हिंसाका २० हजारभन्दा बढी घटना भएको प्रहरीको तथ्याँकले बताउँछ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसामा घरेलु हिंसाका घटना ८० प्रतिशत रहेका छन् । एक वर्षको अवधिमा घरेलु हिंसाका १६ हजार ५१९, जबरजस्ती करणीका दुई हजार ३८७, जबरजस्ती करणी उद्योगका ५१८, अपहरण तथा जबरजस्ती करणीका ५९, जबरजस्ती करणी गरी कर्तव्य ज्यानका पाँच, मानव बेचबिखन तथा जबरजस्ती करणीका १० वटा घटना भएको प्रहरीको तथ्याङ्क छ। अधिकांश लैङ्गिक हिंसाका घटना तुलनात्मक रूपमा कम शैक्षिक योग्यता भएका वर्ग बढी पीडित र पीडक भएको देखिएको प्रहरीले जनाएको छ ।