• गृहपृष्ठ
  • व्यापार घाटा: चौमासिक अवधिमा साढे चार खर्ब !

व्यापार घाटा: चौमासिक अवधिमा साढे चार खर्ब !

Nov 24th, 2023

काठमाडौँ ८ मंसिर

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु. चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापार घाटा व्यहोरेको हो ।

भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल रु. पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार बराबरको वैदेशिक व्यापार गर्दा रु. पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख बराबरको आयात गरेको छ भने रु. ५० अर्ब ५६ करोड ५३ लाख बराबरको मात्रै निर्यात गरेको छ ।

गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ७९, निर्यात सात दशमलव ६८, व्यापार घाटा तीन दशमलव ३४ र समग्र वैदेशिक व्यापार चार दशमलव १५ प्रतिशतले घटेको छ ।

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो । चालु आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कूल रु. तीन खर्ब ४७ अर्ब तीन करोड बराबरको व्यापार गर्दा रु. दुई खर्ब ८१ अर्ब दुई करोड बराबरको व्यापार घाटा व्यहोरेको छ ।