• गृहपृष्ठ
  • सन् २१०० सम्ममा पृथ्वी २.९ डिग्री सेल्सियसको विनाशकारी तापमा पुग्ने राष्ट्रसङ्घको चेतावनी

सन् २१०० सम्ममा पृथ्वी २.९ डिग्री सेल्सियसको विनाशकारी तापमा पुग्ने राष्ट्रसङ्घको चेतावनी

Nov 21st, 2023

काठमाडौ ५ मंसिर

संयुक्त राष्ट्रसङ्घले विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौती गर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएको वताएको छ ।

राष्ट्रसङ्घले सो प्रतिवद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा विनाशकारी २.९ डिग्री सेल्सियससम्म पुग्ने चेतावनी समेत दिएको छ ।

दुबईमा महत्वपूर्ण कोप २८ जलवायु वार्ताको ठीक अघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको छ र यसले अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको उल्लेख गरेको छ ।

यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने अपेक्षा गरिएको सन्दर्भमा यूएनईपीले भनेको छ, “विश्वले बिग्रिएको जलवायु रेकर्डको सङ्ख्या, गति र परिमाणमा चिन्ताजनक गति देखिरहेको छ ।”

कार्बन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै यूएनईपीले भनेको छ, “पृथ्वी सन् २१०० सम्ममा २.५ डिग्री सेल्सियस र २.९ डिग्री सेल्सियसको बीचमा विनाशकारी तापको मार्गमा छ । विद्यमान नीति र उत्सर्जन कटौती प्रयासहरूको बाबजुद् विश्वव्यापी तापक्रम वृद्धि तीन डिग्री सेल्सियसतर्फ धकेलिने सम्भावना बढेको छ ।”

सन् २०२१ देखि २०२२ सम्ममा १.२ प्रतिशतले उत्सर्जन वृद्धि भएको विश्वले वायुमण्डलमा हरितगृह ग्याँसको रेकर्ड स्तरलाई प्रोत्साहन गरिरहेको युएनईपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी नोभेम्बर ३० देखि शुरु हुने कोप २८ वार्तामा ‘नाटकीय जलवायु काययोजर्ना’को खाका प्रस्तुत गर्न आह्वान गरेका छन् ।