• गृहपृष्ठ
  • विश्व शौचालय दिवस: विश्वका साढे तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित !

विश्व शौचालय दिवस: विश्वका साढे तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित !

Nov 19th, 2023

काठमाडौ ३ मंसिर

विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्र संघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो।

मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरू गरिएको हो।

यसवर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

यस वर्षको नारा ‘परिवर्तनको गति बढाउँदै’ रहेको छ। राष्ट्र सङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ।

दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ। तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पुर्‍याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ।

यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र सङ्घले यस वर्षको नारा परिवर्तनको गति बढाउदै भन्ने राखेको हो।

राष्ट्रसङ्घका अनुसार विश्वका साढे तीन अर्ब व्यक्ति अझै पनि सुरक्षित शौचालयको सुविधाबाट वञ्चित छन्।

त्यसमध्ये ४१ करोड ९० लाख व्यक्ति अझै पनि खुलास्थानमा दिसा–पिशाब गर्छन्। खुला दिसा र पिसाबका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ। यसले प्रकृति, महिला, युवती र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ। सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब सात वर्षमात्र बाँकी छ।

नेपालमा वि.सं २०७६ असोज १९ गते खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा भएको हो। सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न थालेको थियो।

सबैभन्दा पहिला कास्की खुला दिसामुक्त घोषणा भएको थियो। झण्डै नौ वर्षको अनवरत प्रयासपछि सन् २०१९ को सेप्टेम्बर ३० मा यो उपलब्धि हासिल भएको थियो।