• गृहपृष्ठ
  • देशको जनशक्ति विदेश पठाएर कहिलेसम्म मख्ख पर्ने सरकार ?

देशको जनशक्ति विदेश पठाएर कहिलेसम्म मख्ख पर्ने सरकार ?

Nov 18th, 2023

काठमाडौं, मंसिर २
बुढापाकाले नचिनेको व्यक्तिसँग जानुहुन्न, उनीहरुले दिएको खानुहुन्न भनेर बालबालिकालाई अर्ती दिइरहेका हुन्छन् । यता, अभिभावकले पनि आफ्ना बालबच्चालाई यो कुरा स्मरण गराइरहेका हुन्छन् । मुलुकमा विगतदेखि नै मानव बेचबिखन हुँदै आइरहेको छ । आर्थिक अवस्था कमजोर र अशिक्षाको फाइदा तस्करहरुले उठाउने गरेका छन् । रोजगारीको प्रलोभन देखाएर नेपाली चेलीहरुलाई भारतमा लगेर बेचिन्छ । त्यस्तै, विवाह गरेर ढोंग रचेर पनि तस्करहरुले महिला बेचबिखन गर्दै आएका छन् । सीमा नाका खुल्ला भएकाले तस्करहरुले सहजै नेपाली चेली भारत लगेर बेच्छन् । सीमाबाट हुने तस्करी रोक्न प्रहरीको बाक्लो गस्ती खटाइएको हुन्छ । तैपनि प्रहरीको आँखा छलेर तस्करहरुले यो धन्दा चलाइरहेका छन् । कतिपयलाई त प्रहरीले शंका लागेपछि समात्ने पनि गरेको छ ।

मानव बेचबिखन अपराध हो । बेचिएकी चेली वा तिनको परिवारले उजुरी दियो भने बेचबिखन गर्नेले लामो सजाय काट्नुपर्ने हुन्छ । तर, अहिले त सरकारले नै जनता बेचिरहेको छ । रोजगारीको नाममा नेपाली विदेशी मुलुकमा बेचिएका छन्, त्योपनि मोटो रकम खर्च गरेर । हरेक दिन हजारौं नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन् । लाखौं रुपैयाँ खर्च गरेर नेपाली अर्काको देशमा रगतपसिना चुहाउन हिँडेका छन् । नेपाली लाई यसरी विदेशी जान बाध्य पार्ने त सरकार हो । शिक्षाको नाममा बाहिरिनेको संख्या केही वर्षयता ह्वात्तै बढेको छ । विदेशी मुलुकमा नेपालीको संख्या अचाक्ली बढेको छ भने नेपाल रित्तिँदै गएको छ । तर, सरकारको यसतर्फ ध्यानाकर्षित हुन सकेको छैन् । माध्यमिक शिक्षा पूरा गरेकाहरु नेपालमा बस्नै चाहँदैनन् ।

तिसौं लाख रुपैयाँ खर्च गरेर अष्ट्रेलिया, अमेरिका, क्यानडा, युरोपलगायत विभिन्न मुलुक जान्छन् । उनीहरु फर्केर आउलान् र नेपालका लागि केही गर्लान् भनेर नसोच्दा पनि हुन्छ । आर्थिक अवस्था कमजोर भएकाहरु ऋणधन गरेर मलेसिया र खाडी पुगेका छन् । भएका जनशक्ति धमाधम पलायन भइरहेका छन् । देशमा बुढाखाडा मात्रै बाँकी छन् । सक्षम जनशक्ति, देशलाई आवश्यक पर्नेहरुलाई समेत सरकारले रोक्न सकेन् । अस्पताल गयो, डाक्टर छैनन् । विद्यालयमा क्षमता भएका शिक्षक छैनन् । कृषिप्रधान देश आज खाद्यान्न आयात गर्ने देश बनेको छ । गाउँको जग्गा सबै बाँझो छ । कोही मर्यो भने मलामी जाने मान्छे छैनन् । बुढा भएका बुवाआमा यहाँ छन्, छोराछोरी बाहिर । घरका सदस्य विदेश नगएका परिवार अब नेपालमा सायदै भेटिएला । बुवाआमाले दुःख गरेर छोराछोरी पढाउँछन्, हुर्काउँछन् ।

विदेशमा गएर बसोस् भनेर बुवाआमाले छोराछोरी पढाएका त थिएनन् होला ? तर, सरकारले अवस्था नै त्यस्तो बनाइदियो । सरकारले आफ्ना नागरिकतालाई यही रोक्न सकेन् । देशकै लागि केही गर्नुपर्छ भनि सिकाउन असफल भयो, सरकार । रोजगारीको अवसर नभएपछि नचाहँदाचाहँदै पनि आफ्ना सन्तानलाई विदेश पठाउन बाध्य छन्, अभिभावक । छोराछोरीले विदेश गएर कमाएका त छन् । तर, दुःखको पाटो के छ भने बुवाआमा बिते भने यहाँ दागबत्ती दिनेसमेत कोही हुँदैनन् । कि त लाशलाई छोराछोरी नआइपुगुञ्जेल ढाकेर राख्नुपर्छ कि अन्यले नै दागबत्ती दिनुपर्छ । यस्तो अवस्था आउनु साँच्नै नै दुःखद् विषय हो । किसानले खसीबोका पाल्छन् । अनि त्यो ठूलो भएपछि बगलेलाई बेच्छन् । तर, जनता त खसीबोका होइनन् । विडम्बना, सरकारले यो कुरा बुझेन् ।

शिक्षा र रोजगारीका लागि जनता बेचिनुपरेको छ । सरकार नेपालीले विदेशबाट पठाएको रेमिट्यान्सबाट मख्ख छ । अहिले देशको अर्थतन्त्र रेमिट्यान्सले धानिएको छ भन्ने कुरा लुकाएर लुक्दैन् । रेमिट्यान्सका लागि सरकारले आँखा चिम्लेर नेपाली बेच्यो । तर, त्यसबाट मुलुकलाई भएको घाटा सरकारले निक्र्यौल नै गरेको छैन् । आफ्नो मुलुकको विकासका लागि खटिनुपर्ने नेपाली आज अर्काको देशका लागि श्रम गरिरहेका छन् । उनीहरुले अन्य देशको विकासमा योगदान पुर्याएका छन् । विडम्बना, नेपाल जस्ताको त्यस्तै छ । झन् दिनप्रतिदिन गुज्रिदै गएको छ । नेपालको विकास होला, माथि उठ्ला भनेर अब नसोच्दा पनि हुन्छ । किन कि विकास गर्नका कोही पनि छैनन् । जुन देशले नेपाली लान्छ, उसले कति श्रमशोषण गर्छ ? सरकारलाई थाहा छ ? कम तलबमा धेरै काम लगाउँछ । नेपालीहरुले आफ्नो श्रमको मूल्यसमेत पाउन सकेका छैनन् ।

कति नेपाली विदेशमा अलपत्र छन् । खान बस्नकै समस्या भएको कुराहरु समेत बाहिर आइरहेको हुन्छ । तैपनि सरकार आँखा चिम्लेर बसेको छ । आफ्ना जनतामाथि शोषण हुँदासमेत सरकार टुलुटुलु रमिता हेर्छ । नेपालीले चर्को घाममा आफ्नो पसिना चुहाएका छन् । बल हुनेले विदेशमा पनि मजदुरी नै गरेका छन् । पढाइलेखाइ भएकाहरुले मात्र केही ढंगको काम पाएका होलान् । खाडी गएका अधिकांश नेपालीलाई मिर्गौलाको समस्या देखिन्छ । रोग लाग्नेबित्तिकै विदेशी मुलुकले नेपालीलाई फिर्ता पठाइदिन्छन् । यता, काम गर्ने क्रममा मृत्यु भएका नेपालीलाई कफिनमा हालेर फर्काउँछ । नेपालले के पायो त ? रोगी भएर फर्किएका नेपालीसँग उपचार गर्ने पैसासमेत हुँदैन् । उनीहरु रोग पालेर मर्ने दिन पर्खेर बस्न बाध्य छन् । मरेका नेपालीको आफन्तको बिचल्ली हुन्छ ।

नेपाल सरकारले सामान निर्यात गर्न नसकेपछि नेपाली निर्यात गर्न थाल्यो । अबको केही वर्षमै नेपालले जनता निर्यातको रेकर्ड तोड्ने निश्चित छ । ‘गिनिज वर्ल्ड बुक’ मा नेपालले नाम लेखाउँछ नै । श्रम मन्त्रालय, श्रम विभाग, म्यानपावर र कन्सल्टेन्सीहरुले १८ वर्ष पुग्ने बित्तिकै पलायन हुनुपर्छ भनेर सिकाइरहेको छ । श्रम मन्त्रालय र विभागको स्थापना नेपाली बेच्नका लागि भएको रहेछ भन्ने छर्लङ्ग भएको छ । मजदुरको हकअधिकारका लागि लड्ने उद्देश्यले स्थापना गरिएको मन्त्रालय र विभाग कतिबेला नेपाली बेच्ने अड्डा बन्यो ? कसैले थाहा पाएनन् । उद्योगी, फर्म, संघसंस्थाले पारिश्रमिक दिएन्, तोकिएको समयभन्दा धेरै समय काम लगायो, मजदुरहरुको हकअधिकार खोस्यो, श्रम शोषण गर्यो भने मजदुरहरुलाई न्याय दिलाउने काम श्रम मन्त्रालय र विभागको हो ।

तर, मजदुरको विषयमा श्रम मन्त्रालय र विभाग मौन छ । किन कि श्रम मन्त्रालय र विभागमा रहेको पदाधिकारीहरु सबै म्यानपावर र कन्सल्टेन्सीको दलाल बने । म्यानपावर र कन्सल्टेन्सीको पक्षमा उनीहरुले काम गर्छन् । मजदुरहरुले अहिलेपनि आफ्नो श्रमअनुसारको तलब पाएका छैनन् । उनीहरुलाई तोकिएको समयभन्दा धेरै काम लगाइन्छ । न उपचार खर्च दिइन्छ न चाडपर्व पेश्की । तर, सरोकारवाला निकाय हात बाँधेर बसेको छ । मजदुरको पक्षमा को बोल्ने ? जहाँ हेर्यो दलालको साम्राज्य छ । मजदुरहरु मरेको मर्यै । सरकारले शिक्षाको नाममा वर्षेनि अर्बौं रुपैयाँ खर्च गरिरहेको छ । सबै नेपाली विद्यार्थी विदेश जाने हो भने शिक्षाको नाममा अर्बौं रुपैयाँ छुट्याउनुको के औचित्य ? शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकमै गुणस्तरीय शिक्षा छ भनेर विद्यार्थीमा विश्वास दिलाउन सकेन् ।

बरु, धमाधम ‘एनओसी’ बाँड्यो । १२ कक्षा पास गरेको हुँदैन्, विद्यार्थीहरुले विदेश जाने र त्यतै बस्ने ‘माइन्डसेट’ गरिसकेका हुन्छन् । नेपालमा पनि ठूल्ठूला कलेज खुलेका छन् । प्रविधिमा कलेजहरुले लगानी गरिरहेका छन् । तर, त्यो सब ‘वालुवामा पानी’ भएको छ । अहिले ब्याचलर्स पढ्ने विद्यार्थी नभएको भनि कलेजहरुले व्यापक गुनासो गरिरहेका छन् । विद्यार्थी होस् पनि कहाँबाट ? सबै १२ सकिनेबित्तिकै विदेश होमिहाल्छन् । नेपाली विद्यार्थीहरु धमाधम विदेश जाँदा सरकारलाई धेरै नोक्सानी भएको छ । तैपनि सरकारले नजरअन्दाज गरिरहेको छ । एकातिर नेपाली विद्यार्थीले मोटो रकम विदेश गएर पढ्ने नाममा खर्च गरिरहेका छन् भने अर्कोतिर उनीहरु उता अध्ययन सकाइसकेपछि पनि फर्केर आउँदैनन् । यता, करोडौं लगानी गरेर खोलिएका ठूल्ठूला कलेजहरु डुब्ने अवस्थामा पुगेको छ ।

नेपालीहरुको देखासिकी गर्ने बानी छ । भनिन्छ नि,‘अरु घोडा चढ्यो भन्दैमा आफू धुरी चढ्नुहुँदैन् ।’ तर, नेपालीले यो कुरा बुझ्दैनन् । छिमेकीका छोराछोरी विदेश गयो भन्दैमा आफ्नालाई पनि पठाउनुपर्छ भन्ने छैन् । नेपालमा बसेर पनि केही सकिन्छ भन्ने कुरा अभिभावकले सिकाउन सकेनन् । साना प्रयासले सफलताको उचाइ चढेका धेरै उदाहरण नेपालीले नै दिएका छन् ।
विदेशी मुलुकको नागरिकता पाउनु ठूलो कुरा होइन् । तर, त्यहाँ गएपनि नेपालमै फर्किएर केही गर्नुले चाँहि ठूलो महत्व राख्छ । छोराछोरीले विदेशबाट कमाएर पठाउँदा बुवाआमा खुसी हुन्छन् । जब आफूलाई छोराछोरीको आवश्यकता पर्दछ र साथमा कोही हुँदैनन्, त्यतिबेला बुवाआमालाई एकदमै धेरै गल्तीको महसुश हुन्छ । त्यसैले सरकार र अभिभावक बेलैमा यसविषयमा सचेत हुन जरुरी छ ।
अनुसा थापा
भक्तपुर