• गृहपृष्ठ
  • भाइटिकाः बजार मँहगी र ट्याक्सी चालकको ठगीका कारण मर्कामा दिदीबहिनी !

भाइटिकाः बजार मँहगी र ट्याक्सी चालकको ठगीका कारण मर्कामा दिदीबहिनी !

Nov 16th, 2023

काठमाडौं, कार्तिक ३०
आज तिहारको महत्वपूर्ण दिन, भाइटिका । बिहानैदेखि बजारमा चहलपहल छ । दाजुभाइलाई टिका लगाउन जाने दिदीबहिनीहरु सामान बोकेर बिहानै सडकमा निस्किएको देख्न सकिन्छ । भाइटिका भएकाले आज न्यून मात्र सार्वजनिक यातायात चल्छन् । यता, हातभर झोला भएकाले पनि बस, माइक्रोबसमा यात्रा गर्न सम्भव छैन् । कुच्चिने, बिग्रिने सामान भएकाले पनि बसमा यात्रा गर्न सकिँदैन् । वर्ष दिनभरी ट्याक्सी नचढेकाहरु आज बाध्य छन् । सँधै हिँड्ने वा बसमा यात्रा गर्नेहरुलाई आज ट्याक्सी चढ्नैपर्छ । आज ट्याक्सीहरुको कमाउने दिन हो । उनीहरुलाई यात्रु बोकेर भ्याइनभ्याइ हुन्छ । ट्याक्सी मात्रै होइन्, निजी प्लेटका सवारी साधनलाई पनि आज दौडधुप हुन्छ । अधिकांशलाई ट्याक्सी कालो प्लेट र निजी प्लेटका सवारी रातो प्लेटको हुन्छ भन्ने कुरा थाहा छैन् ।

निजी प्लेटका गाडीलाई पनि कतिपयले ट्याक्सी नै भन्छन् । जसका कारण उनीहरु ठगिन्छन् । निजी प्लेटका सवारीले मनलाग्दी भाडा असुल्दै आएको छ । आज त झन् यसको ठगीधन्दा मौलाउँछ । भक्तपुरको सूर्यविनायक, सल्लाघारी, सिर्जनानगरकै बसोबासीहरु ठगिएका छन् । भक्तपुर काठमाडौं उपत्यकाभित्र पर्दछ तर यहाँका स्थानीयले ट्याक्सी र निजी प्लेटका गाडीमा फरक छुट्याउन सक्दैनन् । त्यसो त बाहिरी जिल्लाका सर्वसाधारणको हालत के होला ? हिजो बेलुका भक्तपुरको सिर्जनानगरमा निजी प्लेटका गाडी बुकिङ्ग गरिरहेको प्रशस्तै देखिन्थ्यो । आज गाडी नपाउने भएपछि महिलाहरुले बेलुका नै बुकिङ्ग गरिरहेका थिए । यता, चालक पनि मनलाग्दी भाडा माग्दै आएका थिए । कोही पाँचखाल त कोही धुलिखेल जाने थिए । ट्याक्सी अपुग हुँदा सर्वसाधारण निकै मर्कामा परेका छन् । उनीहरु निजी प्लेटका सवारी चालकले जति भन्यो त्यति भाडा तिर्न बाध्य छन् । आज ट्याक्सी पाउन महाभारत छ । पाइहाले पनि एक किलोमिटरमै एक हजार रुपैयाँ माग्छ । एकातिर सामानको मँहगी अर्कोतिर ट्याक्सीको ठगी । दाजुभाइले दिएको दक्षिणा त ट्याक्सी भाडा तिर्न पनि पुग्दैन् । यस्तै पारा रह्यो भने दिदीबहिनीहरु टिका लगाउनै जाँदैनन् । जहाँ पनि ठग्ने र लुट्ने मात्रै छन् ।

चाडबाड आउँदा व्यवसायी मात्रै खुसी हुने अवस्था बनेको छ । किन कि सर्वसाधारण त चाडबाड मनाउनै नसक्ने अवस्थामा पुगेका छन् । ट्याक्सी र निजी प्लेटका सवारी चालकले महिना दिनको कमाइ एकैदिनमा उठाइहाल्छन् । आजको दिन ट्याक्सी पाउनु भनेको युद्ध जितेसरह हो । गाउँघरबाट टिका लगाउन आउने दिदीबहिनीहरु पनि ट्याक्सी चढ्नैपर्यो । काठमाडौं उपत्यकाभित्रै भएकालाई पनि ट्याक्सी चाहियो नै । उपत्यकाको चोकमा बिहानैदेखि ट्याक्सीको खोजी शुरु भएको छ । कुनै मोटरसाइकलमा ट्याक्सी खोजिरहेका छन् त कुनै झोला बोकेर ट्याक्सी कुरेर बसेका छन् । ट्याक्सी चालकले जति माग्यो, त्यति भाडा तिर्नुपर्ने बाध्यता छ । जसले ट्याक्सी चालकले भनेजति पैसा तिर्छ, उसले ट्याक्सी चढ्न पाउँछ । होइन् भने ट्याक्सी चढ्छु भनेर कल्पना नगरेपनि हुन्छ ।

सडकमा एकदमै न्यून संख्यामा सवारी साधन चलेका छन् । क्यूमा चल्ने गाडीहरु पनि फाट्टफुट्ट मात्रै देखिन्छन् । जसले गर्दा टिका लगाउन जाने दिदीबहिनीहरु अलपत्र परेका छन् । काठमाडौं उपत्यकाको जनसंख्या झण्डै करोड बराबर छ । तर, ट्याक्सीको संख्या नौं हजार मात्र छ । ठ्याक्कै ‘हात्तीको मुखमा जिरा’ को अवस्था छ । उपत्यकाभित्रै कै बसोबासीलाई ट्याक्सीको अभाव छ । विदेशी र विभिन्न जिल्लाबाट काठमाडौं आएकाले के ट्याक्सी पाउनु ? ट्याक्सीको संख्या न्यून हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । तर, यो कुरा सरकारले देख्दैन् । न ट्याक्सीको नयाँ दर्ता खोल्छ न फो–स्टक टेम्पोको । एउटा ट्याक्सी पाउनका लागि घण्टौं कुनुपर्ने बाध्यता छ । ट्याक्सीको संख्या अपुग हुँदा निजी प्लेटको ठगीधन्दा मौलाएको हो । ट्याक्सी पर्याप्त नहुँदा सर्वसाधारण मँहगो भाडा तिर्न बाध्य छन् ।

यातायात क्षेत्रमा वर्षौंदेखि सिण्डिकेट छ । सीमित व्यवसायीले आफ्नो फाइदाक लागि सिण्डिकेट लगाएका छन् । जसले गर्दा यात्रुले निकै दुःख कष्ट पाउनुपरेको छ । यद्यपि, सरकार आम नागरिकप्रति जिम्मेवार छैन् । सरकार व्यवसायीको अगाडि लम्पसार परेको छ । हालका बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल काभ्रेका हुन् । तर, काभ्रेमै ट्याक्सी पाइँदैन् ।
त्यहाँका स्थानीय आपतविपत् पर्दा मँहगो भाडा तिरेर निजी प्लेटका सवारी साधन चढ्न बाध्य छन् । विसं २०४८ सालको सरकारले ट्याक्सी र टु–स्टक कालो हुटवाला टेम्पोलाई उपत्यकाभित्रको रुट परमिट दिएको हो । काठमाडौं, भक्तपुर र ललितपुर उपत्यकाभित्र पर्दछ । तर, दक्षिणकाली, गोदावरी, थानकोट, नारायणथान, शालीनदी, जगातीमा ट्याक्सी पाइँदैन् ।
उपत्यकाभित्र नै ट्याक्सी पाइँदैन्, बाहिरी जिल्लाका सर्वसाधारणले के ट्याक्सी चढ्न पाउनु ? सरकारले उपत्यकाभित्र परमिट दियो तर संख्या अपुग हुँदा सर्वसाधारण मर्कामा परे । अहिले सञ्चालित ट्याक्सीलाई न्यूरोड र पुतलीसडक घुमेरै भ्याइनभ्याइ छ । के दक्षिणकाली र गोदावरी पुगोस् ? उपत्यकाबाट धेरै सांसद् सदनमा पुगेका छन् । तर, सिण्डिकेट तोड्नुपर्छ, नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्छ भनेर उनीहरु चुइक्क सदनमा बोल्दैनन् ।

उपत्यकाभित्रका स्थानीयलाई त यति सास्ती छ भने बाहिरी जिल्लाका जनताको हालत के होला ? अस्पताल जानलाई साधनसमेत पाइँदैन् । यही हो विकास ? सवारी नपाएर मर्नुपर्ने बाध्यता अहिलेपनि छ । अहिले त उपत्यका बाहिरका जिल्लामा पनि धेरै जनसंख्या बढिसकेको छ । त्यहाँका बसोबासीलाई पनि ट्याक्सीको आवश्यकता महसुश भएको छ । तर, सरकार न नयाँ दर्ता खोल्छ न रुट परमिट बढाउँछ । फो–स्टक टेम्पोको नयाँ दर्ता खोल्न पटकपटक माग उठिसकेको छ । प्रत्येक किलोमिटर १० रुपैयाँमा यात्रु बोक्छु भन्नेहरुले पाएका छैनन् । किन कि सरकारले दर्ता खोल्न चासो नै देखाउँदैन् । देशमै बसेर केही गर्छु भन्नेहरुले किन नपाउने ? सस्तोमा सेवासुविधा दिन्छु, स्वरोजगार बन्छु, राज्यलाई कर तिर्छुभन्दा सरकार नै अड्चन बनेको छ । अधिकांश मुलुकमा अहिले पनि फो–स्टक टेम्पो गुडेको छ ।

ट्याक्सी चढ्दा फल्याक डाउनबापत मात्रै ५० रुपैयाँ तिर्नुपर्छ । तर, यात्रुले त कुनै सुविधा नै लिएका हुँदैनन् । फल्याक डाउनको नाममा दैनिक ६ करोड रुपैयाँ फजुलमा यात्रुले तिर्नुपर्छ । सेवाशुल्क लिँदिन, भाडा घटाएर २५ रुपैयाँ प्रति किलोमिटर चलाउँछुभन्दा पनि सरकारले नयाँ दर्ता खोल्दैन् ? अहिले भाडादर साह्रै मँहगो भयो । प्रति किलोमिटर ५० रुपैयाँ तोकिएको छ ।
त्यो पनि मिटरमा चल्यो भने । कुनै ट्याक्सी मिटरमा गुड्न मान्दैन् । चालकको जिब्रोले जति भन्यो त्यति तिर्नुपर्ने बाध्यता छ । सात वटै प्रदेशमा ट्याक्सीको नयाँ दर्ता बन्द छ । कुनै पनि प्रदेशले नयाँ दर्ता खोलेको छैन् । सबै प्रदेशमा सिण्डिकेट छ । संघका यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्री हुनेबित्तिकै सिण्डिकेटबारे जानकारी गराइएको थियो । उनले ट्याक्सीको दर्ता खोल्ने भनेका थिए तर त्यो आश्वासनमै सीमित भयो । यता, प्रदेशका मन्त्री लम्सालले पनि झुक्याए मात्रै । उनी मन्त्री भएको ६ महिना बितिसकेको छ । उनले अध्ययन गर्छु भनेका थिए । तर, यतिका महिनासम्म उनको अध्ययन नै सकिएन् । मन्त्रालयका सचिव तीर्थराज भट्टराईले पनि अध्ययन गर्दैछौं भन्छन् । अध्ययन सकिँदासम्म त सरुवा भइसक्ने होलान् । अस्पतालअगाडि हेर्नुपर्छ, ट्याक्सी चालक र यात्रुबीच मोलमोलाई भइरहेको प्रशस्तै दृश्य देखिन्छ ।

भक्तपुर अस्पताल, धुलिखेल अस्पतालअगाडि निजी प्लेटका गाडी पार्क गरेर राखिएको हुन्छ । त्यहाँ सबै निजी प्लेटका सवारीले यात्रु बोक्छन् । यात्रुले त भाडा तिरेका छन् तर राज्यले राजश्व पाएको खोइ ? निजी प्लेटका सवारीले जाँचपाँस, प्रदुषणलगायत कुनै शीर्षकमा कर तिर्दैनन् । आम्दानी र लगानीको कर पनि राज्यले पाएको छैन् । निजी प्लेटको सवारीको ठगीधन्दा मौलाउनुको कारण पनि सरकार नै हो । सरकार नयाँ दर्ता खोल्दैन् अनि यात्रु मँहगो भाडा तिरेर निजी प्लेटका सवारी साधन चढ्न बाध्य छन् । नयाँ दर्ता खोल्दा सबैलाई फाइदा छ । राज्यलाई राजश्व आउँछ । यात्रुले चाहिएको बेलामा सवारी साधन पाउँछन् । देशमै रोजगारी गर्छु भन्नेहरुले पनि पाए । तर, सरकारको ध्यान यसतर्फ किन जाँदैन् ? अहिले नम्बर प्लेट तीनदेखि पाँच लाखमा खरिदबिक्री भइरहेको छ । नयाँ दर्ता खुल्यो भने यो क्रम रोकिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको यसतर्फ ध्यान जाओस् ।
अनुसा थापा
भक्तपुर