• गृहपृष्ठ
  • यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय

Nov 13th, 2023

काठमाडौँ २७ कार्तिक

नेपाल सरकारले सरकारी कागजातमा नेपाल संवत समेत उल्लेख गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्समेत राख्ने निर्णय गरेको हो ।

साथै बैठकले अस्थायी आवास निर्माणलगायत कार्यमा समझदारी कायम गर्न सर्वदलीय संयन्त्र कायम गर्ने निर्णय गरेको छ । नेपाल भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक भएकाले व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बिमा गराउने सम्बन्धमा अध्ययन गरी सरकारको मुख्यसचिवले प्रतिवेदन पेस गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले जाजरकोट भूकम्पका पीडितलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा उपलब्ध गराउने बैठकले निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

साथै सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले तत्कालका लागि त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।