• गृहपृष्ठ
  • गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग

Nov 12th, 2023

काठमाडौं, कार्तिक २६

गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको
छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो । गत कार्तिक १७ गते शुक्रबार जाजरकोटमा केन्द्रविन्दु बनाई गएका भुकम्पमा भएको मानविय क्षतिप्रति गोल्डस्टारले हार्दिक श्रद्धान्जली अर्पण गरेको छ ।

यसका साथै कम्पनीले  भूकम्पपीडित समुदायलाई महत्वपूर्ण सहयोग प्रदान गर्ने अग्रसरता लिएको छ । सङ्कटको घडीमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिकता व्यक्त गर्दै कम्पनीले विनाशकारी भूकम्पमा परेका पीडितलाई सहयोग प्रदान गरेको हो । गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले भनिन्, ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं । हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र वहांहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं ।’

सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो । मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका लागि सुपरिचित छ ।  समयक्रममा गोल्डस्टारले बजारको मागसँग आफुलाई समायोजन गर्दै आज आफुलाई फेसन ब्रान्डका रूपमा सफलतापूर्वक स्थापित गरिसकेको छ । हालै मात्र यसले प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताहरुको एक विशेष
शृंखलाको सुरुवात गरेको छ ।