• गृहपृष्ठ
  • जाजरकोट भूकम्पः १३ जिल्लाका ३५ हजार घरमा क्षति

जाजरकोट भूकम्पः १३ जिल्लाका ३५ हजार घरमा क्षति

Nov 9th, 2023

काठमाडौं २३ कार्तिक

जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पमा परेर हालसम्म १५३ जनाको ज्यान गएको छ भने २६४ जना घाइते भएका छन् । गृह मन्त्रालयको विवरण विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार उक्त भूकम्पले पश्चिम नेपालका कुल १३ जिल्लामा क्षति पुगेको छ ।

ती जिल्लाहरूमा कि व्यक्तिगत घरहरूमा पूर्ण वा आंशिक क्षति भएको छ कि सरकारी कार्यालयहरूमा क्षति पुगेको छ जनाइएको छ।सबैभन्दा धेरै प्रभावित रुकुम पश्चिम र जाजरकोटमै धेरै घर तथा भवनहरू भत्किएका छन् ।

रुकुम पश्चिममा १६ हजार ५ सय ७० घरहरू पूर्णरूपमा क्षतिग्रस्त छन् भने जाजरकोटमा १ हजार १ सय ७० घर पूर्णरूपमा भत्किएका छन् । त्यस्तै रुकुम पश्चिममा ९ हजार ९ सय ६१ घरमा आंशिक क्षति पुगेको छ भने जाजरकोटमा त्यस्ता घरको सङ्ख्या ७ हजार १ सय ६६ रहेको छ।
रुकुम पूर्वमा १८१ घरमा आंशिक र दुई घरमा पूर्ण क्षति भएको छ भने सल्यानमा ९७ घरमा आंशिक र २५ घरमा पूर्ण क्षति भएको छ। रुकुम पूर्वमा ४ वटा सरकारी कार्यालयमा पनि क्षति पुगेको छ ।

रोल्पामा ८३ घरमा आंशिक र १७ घरमा पूर्ण क्षति हुनुका साथै दुईवटा सरकारी कार्यालयमा पनि आंशिक क्षति भएको छ । नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान, अछामलगायतका जिल्लाहरूमा पनि केही घर भत्किएको तथा सरकारी कार्यालयहरूमा क्षति पुगेको शाखाको विवरणमा उल्लेख छ ।

उक्त क्षेत्रमा शुक्रवार राति ६।४ म्याग्निट्यूडको भूकम्प गएको थियो भने त्यसपछि सयौँ परकम्पहरू गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यहाँ हालसम्म ४ म्याग्निट्यूडभन्दा माथिका ८ वटा परकम्पहरू गइसकेको छ ।