• गृहपृष्ठ
  • एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटियो, महसुल नतिर्नेलाई कालोसूचिमा राखिने

एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटियो, महसुल नतिर्नेलाई कालोसूचिमा राखिने

Nov 9th, 2023

काठमाडौ २३ कार्तिक

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ।

कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो। लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए। उनीहरूबाट एक करोड ३७ लाख रूपैयाँ बक्यौता रकम असुली गरिएको छ। उनले भने, ‘प्राधिकरणले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियानअन्तर्गत बक्यौता रकम असुली गरिएको हो।’

तीन हजार चार सय बढी सेवाग्राहीको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ। अभियान सुरु भएसँगै एक हजार पाँच सय सेवाग्राहीले लाइन काट्नुभन्दा अघि नै बक्यौता तिरेको श्रेष्ठले जानकारी दिए। अभियानअन्तर्गत लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घटेको छ । अहिले बक्यौता नतिर्ने सेवाग्राहीको संख्या नौ सय ८१ मा झरेको श्रेष्ठले बताए।

मिटर रिडिङ्को मितिले ४० दिनसम्म पनि विद्युत् महसुल नबुझाउँदा थप २५ प्रतिशत दस्तुर लाग्ने उनले जानकारी दिए। उनले भने, ‘मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाइन्छ।’ सुरुआती दिनमा धेरै रकम बक्यौता भएका सेवाग्राहीको लाइन काटिएको भए पनि विस्तारै बक्यौता नतिर्ने सबैको लाइन काटिने कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बताए। उनले भने, ‘लाइन काट्ने अभिायनलाई तीव्र बनाइँदै लगिने छ।’

लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने उनले बताए।