• गृहपृष्ठ
  • भूकम्प पीडितहरुलाई मन खोलेर सहयोग गर्न हेल्प नेपाल अमेरिकाको अपिल

भूकम्प पीडितहरुलाई मन खोलेर सहयोग गर्न हेल्प नेपाल अमेरिकाको अपिल

Nov 7th, 2023

काठमाडौं, कार्तिक २१

अमेरिका  । अमेरिकास्थित कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्क अमेरिका, ले पश्चिम नेपालमा गत शुक्रबार राती गएको भूकम्पमा परी प्रभावित परिवारहरुको सहयोगार्थ सहयोग संकलन अभियान शुरु गरेको छ।

हेल्प नेपाल नेटवर्क अमेरिकाका अध्यक्ष ज्वलन्त श्रेष्ठले पश्चिम नेपालका भूकम्प प्रभावितहरुलाई मन खोलेर सहयोग गर्न अमेरिका तथा संसारभरि रहेका प्रवासी नेपालीहरुलाई आग्रह गरे। “महाभूकम्प होस् वा कोभिड महामारी, हेल्प नेपालले विगतमा तपाईंहरुको सहयोगलाई पीडित परिवारसम्म पुराउँदै आएको छ।  यसपटक पनि भूकम्प पीडित परिवारहरुलाई तत्काल आपतकालीन, मानवीय सहायता पुराउन तपाईंहरुको अमूल्य सहयोगका लागि हामी अपिल गर्दछौँ,” उनले भने।

हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले जाजरकोटको नलगाड नगरपालिकामा भूकम्प प्रभावित परिवारहरुका लागि १०० बोरा चामल, २०० टेन्ट तथा ३०० पिस कम्बल वितरण गरिसकेको बताए। ” पश्चिम रुकुम र जाजरकोटबाट टेन्ट, औषधि, खाद्यान्न तथा जाडोका लागि न्यानो कपडाको माग आइरहेको छ।  हामीसंग स्थानीय स्तरमा स्वयम्सेवी संस्था र स्वयंसेवकहरु हुनुहुन्छ।  उहाँहरुको साथ र तपाईंहरुको सहयोगबाट भूकम्प पीडित समुदायलाई सहयोग वितरण जारी राख्ने छौं,” उनले भने।

यसै गरी हेल्प नेपाल नेटवर्क क्यानडाका अध्यक्ष नवीन ढकालले  सबै प्रवासी नेपालीहरुलाई भूकम्प पीडितहरुका लागि सक्दो सहयोग गर्न आग्रह गरे।  “एउटा अक्षय कोषबाट प्राप्त ब्याजले हेल्प नेपालको प्रशासनिक खर्च संचालन हुन्छ। त्यसैले तपाईंहरुले सहयोग गर्नु भएको एक पेनी पनि प्रशासनिक काममा खर्च हुदैन, सिधै भूकम्प पीडितसम्म हामीले  पुराउँछौं,” उनले भने। उनले उत्तर अमेरिका तथा क्यानडामा रहेका सामाजिक संघसंस्थासंग सहकार्य गर्न हेल्प नेपाल नेटवर्क तयार रहेको पनि बताए।

सक्दो सहयोग गर्न आग्रह

यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्क  हेल्प नेपाल अमेरिका तथा क्यानडाले सबै प्रवासी नेपालीहरु तथा नेपालका मित्रहरुलाई आग्रह गरेका छन् ।

सन् २०१५ मा गएको महाभूकम्प पछि संसार भरिका नेपालीहरुको सहयोगबाट हेल्प नेपाल नेटवर्कले झन्डै ६ हजार परिवारलाई आपतकालीन राहत वितरण गरेको थियो भने ६ ओटा अस्थायी स्वास्थ्य चौकीको निर्माण तथा ६ ओटा विद्यालयहरुको पुनर्निर्माणमा सघाएको थियो।  त्यस्तै स्वास्थ्य शिविरहरु पनि संचालन गरेको थियो। 

“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतमा स्थापना गरिएको नेटवर्क (www.helpnepal.net)   ले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ।

हेल्प नेपाल नेटवर्क युके, अष्ट्रेलिया तथा स्विडेन शाखाले पनि भूकम्प पीडितहरुका लागि सहयोग संकलन अभियान शुरु गरेका छन्।