• गृहपृष्ठ
  • कित्ताकाट फुकुवा भएपछि जग्गाको वर्गीकरणमा जुटे स्थानीय निकाय

कित्ताकाट फुकुवा भएपछि जग्गाको वर्गीकरणमा जुटे स्थानीय निकाय

Nov 5th, 2023

काठमाडौ १९ कार्तिक

नयाँ भूउपयोग नियमावली अनुसार जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन गर्न स्थानीय निकायहरु जग्गा वर्गीकरण कार्यमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौमा सबै पालिका तथा स्थानीय तहलाई एक वर्षभित्र जग्गाको वर्गीकरण गरिसक्नु निर्देशन दिएका थिए ।

सरकारले २०८० भदौमा एक वर्षको लागि कित्ताकाट खुलाउने निर्णय गरेको थियो । सरकारले २०७९ जेठमै भू उपयोग नियमावली लागू गरेको भएपछि सो नियमावलीले जग्गाको कित्ताकाट रोकेको थियो। व्यवसायीले कित्ताकाट रोकिंदा, सरकारको नीतिगत व्यवस्थामा कडाइ हुँदा र बैंकको ब्याजदर बढ्दासमेत कारोबार ठप्प भएको भन्दै कित्तकाट खुलाउन दवाव दिएका थिए । सरकारले २०८१ को साउनसम्मका लागि कित्ताकाट खुला गरेको छ । सो अवधि सम्म देशभरका ७५३ वटा स्थानीय तहले जग्गाको वर्गीकरण गर्नुपर्ने नियमावालीको व्यवस्था छ। यस अघि वर्गीकरण नगरी जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।

संशोधित नियमावलीमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र र सरकारले तोकेका अन्य क्षेत्रको रूपमा जग्गा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै सम्बन्धित स्थानीय तहले निर्धारण गरेको सडक तथा बाटोको मापदण्डको आधारमा स्थानीय तहको सिफारिस बमोजिम त्यस्तो सडक तथा बाटोमा पर्ने जग्गा कित्ताकाट गर्न सकिने व्यवस्था पनि नियमावलीले गरेको छ ।

नियमावली अनुसार सम्बन्धित निकायबाट प्रचलित कानून बमोजिम जग्गा विकास योजना सहितको नक्सा स्वीकृत गराई जग्गा विकास कार्यक्रम सञ्चालन हुने क्षेत्रको जग्गाको पनि कित्ताकाट गर्न सकिने भएको हो । त्यस्तै कित्ताकाटबाट कायम भएको नयाँ कित्तालाई प्लट मिलान गरिने कित्तामा एकीकरण गरी नयाँ कित्ता कायम गर्नु पर्नेछ । सरकारले वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषि, आवास र व्यावसायिकताका लागि छुट्टाछुट्टै मापदण्ड र व्यावसायिक आवासमा स्थानीय सडकको मापदण्ड पूरा भएको हुनुपर्ने छ ।