• गृहपृष्ठ
  • ”वर्षे अधिवेशनमा सांसदहरुलाई पन्ध्र दिनको तलब दिए पुग्छ”

”वर्षे अधिवेशनमा सांसदहरुलाई पन्ध्र दिनको तलब दिए पुग्छ”

Nov 5th, 2023

काठमाडौँ १९ कार्तिक

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई पन्ध्र दिनको तलब दिँदा पुग्ने अवस्था देखिएको बताएका छन्।

दिन गुजारेको हिसाबले करिब ६ महिनाको तलब लिए पनि कामको परिणामको हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको बताएका हुन्। महामन्त्री शर्माले सांसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रूपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे।

उनले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छीपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले पनि काम गरेको बताएका हुन्। उनले उपलब्धिका दृष्टिले संसदको वर्षे अधिवेशन कमजोर देखिएपनि अनुभव भने प्रशस्त भएको र त्यसले संसदको आगामी अधिवेशनहरूलाई चाही अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्ने आत्मा बोध भएको पनि पटक पटक दोहोर्‍याए।

उनले भने,’हामी यो संसदीय परिपाटीलाई व्यवस्थालाई परिमार्जन गर्ने र अवस्थालाई परिवर्तन गर्ने भन्ने मनोविज्ञानमा छौँ । त्यसमा दृढ छौँ । व्यवस्थालाई परिमार्जन गर्ने सन्दर्भमा पनि परिमार्जित सुसंस्कृत व्यवहारहरू हामीले यस बीचमा प्रस्तुत गरेका छैनौँ संसदमा ।

अव मैले भन्न त्यति नमिल्ला । तर मान्छेले जति काम गर्छ । कामको परिणाम अनुसार यदि पारिश्रमिक दिने हो भने दिन गुजारेको हिसाबले २, ४, ६ महिनाको तलब प्राप्त गर्नु एउटा कुरा हो ।

लिनु एउटा कुरा हो । तर, त्यो समयमा बीचमा तिमीले परिणाम देशका सामुन्ने के पस्कियौँ भन्ने कोणबाट चाही छुट्ट्याएर तलब दिनुपर्‍यो भने केवल १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको छ । त्यस कारण यो प्रकारको संसद चलाउने कुरा सरकारले आफूलाई करेक्शन गर्नुपर्छ ।’