• गृहपृष्ठ
  • भूकम्प पीडितको उद्दार र राहतबारे निर्णय लिन आकस्मिक बैठक

भूकम्प पीडितको उद्दार र राहतबारे निर्णय लिन आकस्मिक बैठक

Nov 4th, 2023

काठमाडौ १८ कार्तिक

जाजरकोट र रुकुुममा गएराती गएको भूकम्पका पीडितको उद्दार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बिहान १० बजेबाट गृह मन्त्रालयमा सुरु बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्दार निकायको प्रतिनिधित्व छ।

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामाग्री पठाईसकेको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्दारमा खटिएका छन्। ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई गएराती ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।

जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ७० घाइते भएका छन् । रुकुम (पश्चिम)मा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ८५ जना घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ताहरूले दिएका छन् ।