• गृहपृष्ठ
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

Nov 3rd, 2023

काठमाडौँ १७ कार्तिक

सहसचिव राधिका अर्याल सचिवमा बढुवा भएकी छन् । हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव अर्याललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फबार्ट वरिष्ठताका आधारमा बढुवा गेर्ने निर्णय गरेको हो । साथै बैठकले प्राविधिकतर्फबाट विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सचिवहरु दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् ।

साथै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण कार्य तालिका स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रवार सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यस बारेमा जानकारी दिएकी हुन् ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न राष्ट्रपति कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्नेछन् । उनी मंसीर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गरिएको उनको भनाइ छ ।

त्यस्तै सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने १० औं सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ । त्यस्तै चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने, कृषि पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाको लागि २६१ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायिकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र (एमओयु) स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी सरकारले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ बमोजिम समिति गठन गर्ने, निमा तामाङको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने, देवराज धमालाको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय समेत गरेको छ ।