रिगललाई पुनः बाँके कारागारमा पठाइयो

Nov 3rd, 2023

काठमाडौं, कार्तिक १७

योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको छ । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो । जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो।

रिगललाई कारागार चलान गरिएको जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले बताए । गत असोज ३ गते संविधान दिवसका दिन रिगल जेलबाट छुटेका थिए । राष्ट्रपतिले सरकारको सिफारिसमा उनलाई कैद मिनाहा गरिदिएका थिए । उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेको थियो ।

२०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि रिगलले खुँडा प्रहार गरी हत्या गरेका थिए । सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गरेकी थिइन् ।