• गृहपृष्ठ
  • रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदर, भारतीले पाइन् न्याय

रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदर, भारतीले पाइन् न्याय

Nov 2nd, 2023

काठमाडौं १६कार्तिक

नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा सुनुवाइ गर्दै शुक्रबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गरिदिएको हो ।

रिगलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए । त्यसविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले रिट दायर गरेकी थिइन् । उनले योगराज ढकाल (रिगल)लाई सरकारले दिएको आममाफी विरुद्ध महिनौँदेखि काठमाडौँ बसेर सङ्घर्ष गरेकी थिइन् ।

सवोच्चको फैसला संगै मूल सडकमा खुँडा हानेर मारिएका आफ्ना पतिका हत्यारा रत भारती शेर्पाको जित भएको छ भने रिगल फेरि समातिएका छन्।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज गरेको फैसलामा भनिएको छ, “निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी हुने ठहर्छ ।”

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो।

बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।

२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरेका थिए ।