• गृहपृष्ठ
  • महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणः के- के भए उपलब्धी ?

महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणः के- के भए उपलब्धी ?

Oct 31st, 2023

काठमाडौ १४ कार्तिक

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार सगरमाथा क्षेत्र र पर्यटकीय नगरी पोखरा पुुगेका छन् ।
महासचिव गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव गुटेरेसले सोमबार खुम्बु पासाङल्हामु गाउँपालिका ४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तरक्रिया गरेका थिए ।

आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर पुगेका महासचिव गुटेरेसले विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको उल्लेख गर्नुहुँदै हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्‍याइरहेको बताए । धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उहाँले नेपालमा परिरहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप२८)मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरे । महासचिव एन्टोनियो गुटेरेस आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आइतबार अवलोकन गरे । सो अवसरमा महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्त्विक महत्वका सम्पदाबारे जानकारी गराए ।

सन् १९७८ मा पनि आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाबाट आफू मन्त्रमुग्ध भएको गुटेरसले प्रतिक्रिया दिए । महासचिव गुटेरेसले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको उल्लेख गर्नुहुँदै यस्ता ऐतिहासिक सम्पदाले पर्यटकलाई आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्ने बताए ।

विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्रसङ्घका महासचिवले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दाहरू पनि उत्साहित भएका छन् ।

सगरमाथा र अन्नपूर्ण क्षेत्र तथा पोखरा र लुम्बिनी नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन् । पोखरा आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य मानिन्छ भने सगरमाथा र अन्नपूर्ण क्षेत्र पर्वतारोहण र पदयात्राका लागि विश्वभर चर्चित छन् । साथै लुम्बिनी धार्मिक पर्यटनका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा यी महत्वपूर्ण पर्यटकीय गन्तव्यमा पुग्नु र पर्यटन क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असरबारे विश्वको ध्यानाकर्षण गराउनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।