• गृहपृष्ठ
  • दुई करोड रुपैयाँ खर्च गरी बनाएकाे द्रुत बस सेवा ठप्प

दुई करोड रुपैयाँ खर्च गरी बनाएकाे द्रुत बस सेवा ठप्प

Oct 31st, 2023

काठमाडौं, कार्तिक १४

यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा हाल रोकिएको छ । दसैँपछि रोकिएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउने भएको छ ।

सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

४० मिनटेमा यात्रा यात्रा पूरा गर्न सक्ने गरी सुरुमा परीक्षणका रूपमा रत्नपार्कदेखि सूर्यविनायक रुटमा द्रुत बस सेवा सुरु गरिएको थियो । उद्घाटनअघि दुई–चार दिनभित्र सडकमा लाइन र रङ पोतेर द्रुत बस सेवाका निम्ति लेन छुट्ट्याइएको थियो ।

बिहान ९ देखि ११ र अपराह्न ४ देखि ६ बजेसम्म चलाइने भनिएका २५ द्रुत सेवाका बसका निम्ति लेन खाली गर्न खोज्दा जाम चर्किएपछि आलोचना हुन थालेको थियो .

द्रुत बस सेवा सञ्चालनका निम्ति काठमाडौं सडक डिभिजनअन्तर्गत सूर्यविनायक–धुलिखेल आयोजनामार्फत काम गरिएको थियो । सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले द्रुत बस सेवा सञ्चालनमा करिब दुई करोड रुपैयाँ खर्च भएको बताए ।

द्रुत बस सेवा सञ्चालनका निम्ति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २५ गाडी उपलब्ध गराएको थियो ।