• गृहपृष्ठ
  • नेपालमा स्तन क्यान्सरः प्रत्येक दिन ६ जना महिलामा देखिने , यस्तो छ बच्चे उपाय

नेपालमा स्तन क्यान्सरः प्रत्येक दिन ६ जना महिलामा देखिने , यस्तो छ बच्चे उपाय

Oct 26th, 2023

काठमाडौ ९ कात्तिक

अक्टोवर महिनामा विश्वभर स्तन क्यान्सरबारे सचेतना जगाउने कार्यक्रमहरु भैरहेको छन् । अक्टोबर महिनालाई ‘पिंक्टोबर’ महिना अर्थात गुलाबी महिनाका रुपमा मनाउने गरिन्छ । यो महिनाभर सबैले गुलाबी रङको कपडा लगाएर स्तन क्यान्सरबारे सचेतना जगाउने गरेको पाइन्छ ।

चिकित्सकहरुका अनुसार स्तनमा भएका कोषहरूको अनियन्त्रित र असामान्य रूपमा वृद्धि हुनुलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर स्तनको कुनै पनि भागमा सुरु हुन सक्छ । प्रायः स्तन क्यान्सर दूध उत्पादन हुने ग्रन्थि (लोव्यूल्स) वा (डकट) अथवा दूध वाहन नलीबाट सुरु हुने गर्दछ । रक्त नलीहरू तथा लिम्फ नलीहरू हुँदै शरीरको अन्य भागहरूमा फैलिन सक्दछ ।

नेपालमा पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या बढ्दो छ । विभिन्न अध्ययनले ५० देखि ६० वर्षका महिलामा अन्यको तुलनामा बढी स्तन क्यान्सर हुने गरेको देखाएको छ । नेपालमा भने ४० देखि ५० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर धेरै देखिएको छ ।

स्तन क्यान्सर एवं पेट तथा आन्द्रारोग विशेषज्ञ डा. कपेन्द्रशेखर अमात्यका अनुसार पाँचदेखि १० प्रतिशत स्तन क्यान्सर वंशाणुगत हुन्छ । नेपाल हेल्थ रिसर्च काउन्सिलले नेपालका सात जिल्लामा स्तन क्यान्सरसम्बन्धी अध्ययन गरेको थियो, जसमध्ये पाँच जिल्लामा स्तन क्यान्सर हुने महिलाको संख्या निकै देखिएको थियो।

विश्व स्वास्थ्य संगठनको २०१७ को अध्ययन अनुसार नेपालमा वर्षेनि एक लाखमा २१.८ महिलामा स्तन क्यान्सर हुन्छ। तीमध्ये १० जनाको मृत्यु हुन्छ। महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरले गराउँछ। पुरुषको दाँजोमा महिलामा स्तन क्यान्सर सय गुणा बढी हुन्छ।

सन् २०२० को ग्लोबोक्यान (डब्लुएचओ) को तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन ६ जना महिलामा स्तन क्यान्सरको पहिचान हुने र प्रत्येक दिन तीन जनाको यही क्यान्सरबाट मृत्यु हुन्छ।

विश्वमा महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा छ। हाम्रो देशमा भने पाठेघरको मुखको क्यान्सरपछि यो दोस्रो नम्बरमा आउँछ।

विश्वभरीमै तथ्यांकहरु हेर्दा अहिले स्तन क्यान्सर पहिला नम्बरमा पुगेको छ। कुल क्यान्सरमध्ये ११ दशमलब ७ प्रतिशत स्तन क्यान्सरले ओगटेको छ। महिलाहरुमा हुने क्यान्सरको अवस्था हेर्दा एकचौथाइ अर्थात २५ प्रतिशत स्तन क्यान्सरले ओगटेको छ।

नेपालका सबै क्यान्सर अस्पतालमा स्तन क्यान्सरको प्राथमिक उपचार हुन्छ । तर गम्भीर प्रकृतिको उपचार भने केही अस्पतालमा मात्र हुन्छ । नेपालमा स्तन क्यान्सरको सामान्य जाँचको लागि धेरै खर्च लाग्दैन । यसमा सरकारले उपचार खर्च दिने गरेको छ । क्यान्सर टार्गेट (लक्षित) थेरापी गराउनुपरेमा भने उपचार खर्च बढ्छ ।

पहिला स्तन क्यान्सर भएमा स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो भने अहिले नेपाल क्यान्सर अस्पताल लगायतका अस्पतालमा सकेसम्म स्तन जोगाएर उपचार गर्ने गरिन्छ । जसलाई मेडिकल भाषामा ब्रेस कन्जरर्भिड सर्जरी भनिन्छ । ४० देखि ५० प्रतिशत बिरामीको स्तन बचाएर नै शल्यक्रिया गर्ने गरिन्छ ।

स्तन क्यानसरका लक्षणहरू
– स्तन वा काखी मुनि नदुख्ने गिर्खा वा गाँठो देखिनु
– स्तनको छालामा निको नहुने घाउ आउनु
– स्तनको आकारमा परिवर्तन आउनु
– स्तनको छाला सुन्तलाको बोक्रा जस्तो हुनु
– स्तनको मुन्टा भित्र तर्फ जानु
– स्तनको मुन्टाबाट रगत वा पीप बग्नु
– स्तन दुख्नु वा सुन्निनु

स्तन क्यानसरको जोखिमबाट बच्ने उपायहरु
– धुम्रपान तथा मद्यपान नगर्ने
– स्तनको नियमित जाँच वा परीक्षण गर्ने
– स्तनपान गराउने
– नियमित व्यायाम गर्ने
– तौललाई सन्तुलनमा राख्ने
– पोषणयुक्त खानेकुरा खाने