• गृहपृष्ठ
  • काम छल्न कर्मचारीका अनेक बहाना: दशैंमा सरकारी खर्च प्रयोग गर्ने नियत

काम छल्न कर्मचारीका अनेक बहाना: दशैंमा सरकारी खर्च प्रयोग गर्ने नियत

Oct 20th, 2023

काठमाडौं ३ कार्तिक

कतिपय कर्मचारीहरुमा दशैं विदाको एक साता अघि देखिनै घरायसी कामको बहानमा विदा मिलाउने प्रवृति देखिन्छ । विभिन्न सुविधाको अनुचित फाइदा उठाउँदै सरकारी कर्मचारीहरु कार्यालयबाटै हराउन थालेपछि अधिकांश सरकारी कार्यालय सुनसान जस्तै भएका छन् । जसको कारण नियमित गर्नुपर्ने सरकारी काम पनि दशै पछिलाई सरेका छन् । कर्मचारीले आफ्नो अनुकूलतामा मात्र काम गर्न थालेपछि सेवाग्राही भने मर्कामा परेका छन् ।

कार्यालय प्रमुख वा सुपरिवेक्षकले भ्रमण आदेश स्वीकृत गराएपछि कर्मचारी काममा नै हुनुपर्ने नियम छ । तर,प्राय कर्मचारीले कार्यालयको अनुगमन, निरिक्षण लगायतका बहानामा भ्रमण आदेश लिई आफ्नो कार्यालयको कामकाज छल्ने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च तहका अधिकारी बताउँछन् । उनका अनुसार काज कै बहानमा टाठाबाठा कर्मचारीले सरकारी ढुकुटीकै दोहन गरी व्यक्तिगत हितमा लगाउँछन् । दशैं विदामा घर जाँदा पनि सरकारी खर्चकै प्रयोग गर्र्ने नियतकै कारण काज लिने विकृति बढ्न थालेको उनले बताए ।


अव त कहाँ काम हुन्छ र दशै आयो नि भन्दै दशैं मनाउने तयारीमा लागेका कर्मचारीकै कारण सेवा प्रवाहमा सास्ती खेप्नुपरेको सेवाग्राहीहरु बताउन्छन् । कर्मचारीहरुले दैनिक सेवा प्रवाह गर्नुपर्ने कार्यालयका काम समेत दशैं पछिलाई सार्ने गरेको पाईएको छ । बजारमा दशैंको चहलपहल बढे संगै सरकारी कार्यालयमा कर्मचारीको उपस्थिती घट्दै गएको छ । जसको कारण आधारभूत सेवाको लागि सरकारी कार्यालय जाने सेवाग्राहीले सही समयमा सेवा पाउन सकेका छैनन् ।

बुधबार नागरिकता बनाउने काम लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौ पुगेका अनामनगरका केशव मानन्धर सम्वन्धीत कर्मचारीलाई नभेटेपछि कामै नगरी फर्किए । नगरिकता वितरण प्रकृयामा संलग्न कर्मचारी दशैंको किनमेल गर्न बजार गएपछि आफ्नो काम अर्को दिनलाई सरेको उनले बताए । त्यस्तै जग्गा पासको कामले मालपोत कार्यलय कलंकी पुगेका तनहुँका श्याम प्रसाद काफ्ले पनि सम्वन्धित कर्मचारीलाई नभेटे पछि सो काम दशैं पछि लाई सारे । उनी भन्छन् , दशै अघी नै जग्गा सम्वन्धी काम सकेर विदेश जाने प्रकृया थाल्नु पर्ने थियो तर कर्मचारी नभएकोले सवै सरकारी काम दशैं पछि लाई सर्दै गएका छन् ।

अहिले धेरैजसो सरकारी कार्यालयका कर्मचारीलाई दशैंको रन्को लागेको छ । गत एक हप्ता अघि देखि नै सरकारी कार्यलयमा कर्मचारी पातलिदै गएको देखिन्छ । धेरै जसो कर्मचारी राजधानी वाहिरका भएकोले पनि उनीहरु घर जाने तयारी गर्दा कार्यालयमा पुरै समय बस्न नसकेको कर्मचारी नै स्वीकार गर्छन ।

समान्य प्रशासन मन्त्रालय काठमाडौका सरकारी कार्यालयमा अधिकाशं कर्मचारी राजधानी बाहिरका भएकोले दशैंको बेलामा घर जाने तयारी, अघि नै टिकट बुक गर्नुपर्ने झन्जट र छिटै घर जानुपर्ने बाध्यताको कारण सेवा प्रवाह गर्ने निकायका काममा केही असर परेको बताउँछ । कर्मचारीलाई छिट्टैनै दशैको माहोलले छोपेपनि त्यसले महत्वपूर्ण निर्णय र नीति निर्माण गर्नुपर्ने काममा कुनै असर नपर्ने मन्त्रालयको दावी छ ।

सरकारी काम, घराएसी काम र चाडवाडको रमझमले गर्दा ठूला चाडपर्व पर्दा सरकारी कार्यालयमा काममा सुस्तता आउने गरेको छ । कर्मचारीहरु यसलाई आफ्नो कमजोरी मान्दैनन् । बरु पर्वको बेलामा कर्मचारीलाई कामबाट केही छुटकारा पाउनुपर्ने आशा राख्छन् । उनीहरु चाडपर्वका बेला कर्मचारीलाई सिफ्टमा आलोपालो काम गर्ने वातावरण बनाईदिन सरकारसंग माग गर्छन् ।