• गृहपृष्ठ
  • कर्मचारीमा मनोमानी बढ्दोः दशैको बेला काज सुविधा मिलाउने,सरकारी खर्चमा मस्तसंग घुम्ने

कर्मचारीमा मनोमानी बढ्दोः दशैको बेला काज सुविधा मिलाउने,सरकारी खर्चमा मस्तसंग घुम्ने

Oct 20th, 2023

काठमाडौ ३ कार्तिक

दशैं बिदा शुरु नहुँदै कतिपय कर्मचारीहरु काजको बहनामा, कतिपय दशैं सपिङको बहानामा त कतिपय कर्मचारीहरु दशैंमा घर जाने तारतम्य मिलाउने बहानामा धमाधम विदा लिएर बस्न थालेका छन् । दशै आउन अझै ४ दिन बाँकी छ । सरकारले दशैको लागि सप्तमी देखि मात्र विदा दिन्छ । तर सरकारी कर्मचारीलाइ भने दशैले एक साता अघिदेखि नै छोइसक्यो ।

दशैंको सार्वजनिक विदा सुरु नहुँदै सिंहदरबार र विभिन्न सरकारी कार्यालयहरुका कर्मचारीलाई विदा मिलाउने सजिलो माध्यम बनेको छ काज विदा । आफूू कार्यरत रहेको कार्यालय नियमित आउन नसके पनि काजमा अन्य कार्यालय गएर काम गर्न काज विदा लिएको भनेर उम्किन्छन् ।

राष्ट्रिय सतर्कता केन्द्रका आनुसार काठमाडौंका विभिन्न सरकारी निकाय र कार्यालयका ३२८ कर्मचारीले काज विदा स्वीकृत गराएर घर जाने गरेका छन् । केन्द्रले बुधबार काठमाडौंका विभिन्न कार्यालयको अनुगमन गर्दा
गत शुक्रबारदेखि नै धेरै कर्मचारीले काज विदाको भ्रमण आदेश स्वीकृत गरेर हिँडेको भेटिएको छ । यसरी कर्मचारी सरकारी विदा हुुनुु अघि नै टाप कसेपछि कतिपय कार्यालयमा दैनिक कामकाज र सेवा प्रवाह नै अवरुद्ध हुन पुगेको छ ।

सरकारका ३१ वटा मन्त्रालय, आयोग, विभागहरु र प्राधिकरण,सार्वजनिक संस्थानमा अनुगमन गर्दा दशैंको विदा सुरु हुनुभन्दा एक हप्ताअघि र विदा सकिने दिनभन्दा एक हप्तापछि सम्मको काज स्वीकृत गरेको भेटिएको सतर्कता केन्द्रले जनाएको छ ।

काजको नियम मिच्दै, विकृति फैल्याउँदै

घुम्ने मनसायले काजको सुविधालाई आधार बनाई धेरै कर्मचारीले काज स्वीकृत गर्दा सरकारी कार्यालयहरुका कार्यकक्षहरु नै सुनसान देखिएका छन् । दशैंमा धेरै कर्मचारीले काजका लागि भ्रमण आदेश स्वीकृत गराउने विकृति बढेको अनुगमनमा संलग्न सतर्कता केन्द्रका अधिकारीहरु बताउँछन् । यसरी काज मिलाएर जाँदा कर्मचारीले काज अवधिभर कार्यालयको सवारीसाधन प्रयोग गर्न पाउँछन् भने दैनिक भ्रमण भत्ता समेत बुभ्छन् ।

निजामती सेवा ऐनमा हरेक कर्मचारीले दशैं खर्च वापत एक महिना बराबरको अतिरिक्त तलव पाउँने व्यवस्था छ । त्यस्तै काजको क्रममा कर्मचारीको श्रेणीअनुसार भ्रमण भत्ता पाउने तथा गाडी र विमानबाट यात्रा गर्दा सोको खर्च पनि सरकारी कोषबाटै पूर्ति हुने व्यवस्था छ । यसैको फाइदा उठाँउँदै पहुँचवाला कर्मचारीहरुले सकेसम्म दशैंमा काज स्वीकृत गराएर आफ्नो गृहजिल्ला जान्छन्, अन्य ठाउँ घुम्छन् र घुम्छन् र धूमधामले दशैं मनाएर कामै नगरी फर्कन्छन् ।

कर्मचारी प्रशासनले खासगरी दुर्गम क्षेत्रमा जाने कर्मचारीको लागि लक्षित गरी लामो समय बाटोमै बित्ने भएकाले उनीहरुलाई यस्तो काज विदा दिने चलन बसाएको थियो । तर कार्यअवधिभर काठमाडौं र आसपासका सुगमका क्षेत्रबाट डेग नचल्ने कर्मचारी दशैंको बेला भने काज सुविधा लिएर अन्यत्र जाने गरेको सतर्कता केन्द्रको अनुुगमनको क्रममा भेटिएको छ ।

कर्मचारीहरुले काज तथा भ्रमण आदेशको स्वीकृत आफ्नो तहभन्दा माथिल्लो तहको कर्मचारीबाट लिन्छन् । मनलाग्दी विदाको सजिलो बाटो भएकोले अधिकांश कर्मचारीले पटक पटक यस्तो सविधा लिएकै हुन्छन् । सामान्य प्रशासन मन्त्रालयमा काज विदा लिन पुगेका एक कर्मचारी भन्छन् काज सुविधा कर्मचारीको हकै हो , फेरि यस्तो सविधा लिन अरु केही गर्नु पर्दैन, आफ्नो हाकीमलाई रिझाएमात्र पुुग्छ अनी किन यो यो सविधा भरपुर उपयोग नगर्ने ? अनि हाकीमहरु आफंैले पटकपटक काज सुविधा आफ्नै पोल्टामा पारेका हुन्छन् , तल्लो तहको कर्मचारीलाई यसको स्वीकृति नदिने त कुरै भएन नि !