• गृहपृष्ठ
  • विमानस्थलभित्रका पसलहरुमा मनपरीः मूल्यको सीमा तोक्न समिति गठन

विमानस्थलभित्रका पसलहरुमा मनपरीः मूल्यको सीमा तोक्न समिति गठन

Oct 19th, 2023

काठमाडौँ २ कार्तिक

नेपालका विभिन्न विमानस्थलभित्रका कतिपय पसलहरुमा एमआरपी नराखिएको र कतिपयमा महँगो मूल्य राखेर सामान बेच्ने गरेको पाइएको छ । केही दिन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थालको अनुगमन गर्दा यस्तो देखिएको हो ।

त्यपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र राखिएका वस्तु तथा सेवाको व्यापार गर्ने पसलहरूले लिन पाउने मूल्यको सीमा तोक्न उच्चस्तरीय समिति गठन गरेको छ ।

प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा गठन भएको समितिलाइ १५ दिनभित्र उठेका विषयको कानुनी पाटो समय टुङ्ग्याउने गरी जिम्मेवारी दिइएको छ ।

बजार क्षेत्रको तुलनामा विमानस्थलको भाडा महँगो हुने गर्छ । यसबाहेक ती पसलहरूले वस्तुको गुणस्तर समेत मेन्टेन गर्नुपर्दा कतिसम्म मूल्य राख्दा उपभोक्ता नठगिने ग्यारेन्टी हुन्छ भन्ने विषय यो समितिले टुङ्गो लगाउने भएको छ । समितिले महानिर्देशकलाई प्रतिवेदन बुझाउने छ ।

विमानस्थल भित्रका पसलको मूल्य बाहिर बजारको तुलनामा महँगो हुने तर उपभोक्ताबाट यसबारे पटक पटक गुनासो आइरहेपछि विमानस्थल व्यवस्थापनले वाणिज्य विभागलाई अनुगमन गर्न भनेको थियो ।

विमानस्थलभित्र प्राधिकरणले तोकेको मुख्यमा भाडा तिर्नुपर्ने, अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्नुपर्ने भएकाले बाहिरकै बजारको मूल्य राख्दा त्यसले गुणस्तरमा पर्ने प्रभाव समेतको अध्ययन गरी सीमा तोक्न बिहीबार प्राधिकरणले एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको प्राधिकरणले जनाएको छ ।