• गृहपृष्ठ
  • व्यापारीहरुको झोले नेताको विरोधमा जनता र सञ्चारमाध्यमले कहिले आवाज उठाउने ?

व्यापारीहरुको झोले नेताको विरोधमा जनता र सञ्चारमाध्यमले कहिले आवाज उठाउने ?

Oct 17th, 2023

काठमाडौं, असोज ३०
विभिन्न राजनीतिक पार्टीबाट चुनाव जितेका सांसदहरु सदनमा मँहगीको विषयमा कुरा उठाइरहेका हुन्छन् । उनीहरु भन्छन्,‘मँहगी बढ्यो, नियन्त्रण गर्नुपर्यो ।’ दिँउसो सदनमा जनताको कुरा उठाउँछन् । तर, ती सब तिनका नौटंकी मात्र हो । दिनमा सदनमा चिच्याइरहेका सांसद राति व्यापारीकै घर पुग्छन्, पैसा लिनका लागि । सांसद सबै व्यापारीका झोले हुन् ।
चाहे त्यो संघका हुन् या प्रदेशका । चुनाव लड्ने बेलामा उनीहरुले व्यापारीबाटै पैसा लिएर लडे । सांसदले त चुनाव लड्ने बेलामा व्यापारीबाट पैसा लिए भने राजनीतिक दलका नेताको त कुरै नगरौं । ‘जनताको आवाज हुँ’ भन्दै कराउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त व्यापारीहरुको ब्राण्ड एम्बेसेडर नै भइहाले । उनी पहिले सिमेन्ट, डण्डीको विज्ञापन खेल्थें ।
व्यापारीसँग उठबस् भएका लामिछानेले सदनमा जे–जे भनेपनि उनी व्यापारीको झोले हुन् । उनले आफु गृहमन्त्री हुँदा व्यापारीहरुलाई रातो कार्पेटमा स्वागत गरे । व्यापारीहरुले विज्ञापनमा कलाकारलाई खेलाएका हुन्छन् । हिजो चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उनको लागि कलाकारहरुले भोट मागे । अहिले लामिछानेले सदनमा उभिएर जनताको कुरा बोल्नु भनेको ‘गोहीको आँशु झार्नु’ हो ।

हरेक राजनीतिक दलले व्यापारीबाट पैसा लिएर चुनाव लडेका छन् । जसका कारण व्यापारीहरुले मनलाग्दी भाउ बढाउँदा पनि नेताहरु मौन बसेको स्पष्ट छ । शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, राजेन्द्र लिङ्देन, महन्थ ठाकुर, उपेन्द्र यादवलगायत सबैले चन्दा लिएर चुनाव लडेका हुन् भन्ने कुरा जनताबाट लुकेको छैन् । सर्वसाधारणले बजार भाउ बढ्नुको कारण छर्लङ्ग भनिदिन्छन् । जुन पार्टीको प्रधानमन्त्री आयो, व्यापारीहरु त्यही पार्टीको बन्छन् । जो प्रधानमन्त्री हुन्छ, उसको घरमा हरबखत व्यापारीको लाइन हुन्छ । राजनीतिक पार्टीहरुले चन्दा लिँदा व्यापारीहरुले आफ्नो मनोमानी चलाएका छन् । यिनीहरुलाई व्यापारी होइन्, दलाली भन्नुपर्छ । एकातिर राज्यलाई तिर्नुपर्ने राजश्व छल्छन् अर्कोतिर एक सय रुपैयाँको सामान पाँच सयमा बेच्छन् ।

राजनीतिक दलका नेता र जनप्रतिनिधिहरु व्यापारीका झोले हुन् । उनीहरु दलालीको पक्षमा काम गर्न आएका हुन्, देश र जनताको लागि होइन् । दलालीहरुको झोला बोक्न, तिनीहरुबाट कमिशन खाने अनि सामानको मूल्य बढाइदिने । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भनेका थिए,‘जनताबाट चुनिएर आएको सांसदको हैसियत वडाध्यक्षको जति पनि छैन् । यिनीहरुलाई अलिकति पनि देश र जनताको माया छैन् ।’ सांसदहरु भ्रष्टाचार गर्न र व्यापारीको हितमा काम गर्न आएका हुन् भनेर उनले खुलेरै भनेका थिए । मेयर शाहले बोलेका हरेक शब्द सत्य रहेछ । मँहगीले सीमा नाघिसकेको छ । तर, राज्य सञ्चालक र सांसदहरुलाई कुनै मतलब छैन् । व्यापारीहरुले आफ्नो मनमर्जी चलाएका छन् । विडम्बना, सरकार टुलुटुलु रमिता हेरेर बसेको छ । सांसद हुनु र नहुनुले कुनै फरक पारेकै छैन् ।

जनताको विषयमा बोलिदिने र समस्या सुनिदिने यहाँ कोही पनि छैन् । आफ्ना आवाज उठाउँलान् भनेर चुनेर पठाएका जनप्रतिनिधि कमिशन खान र ठेक्कापट्टा मिलाउनमै व्यस्त देख्दा जनताको मन भत्भती पोल्छ । बजार भाउ आकाशिएको छ । मँहगीले आम सर्वसाधारणको ढाड सेकेको छ । हरेक सामानमा मूल्यवृद्धि भएको छ । बिहान बेलुका गर्जो टार्न धौं–धौं परेको छ । बजारमा व्यापक कालोबजारी छ । व्यापारीले जति उपभोक्ता ठगेपनि सरकार चुइक्क बोल्दैन् । बेरोजगारीको समस्या जटिल बन्दै गएको छ । खान नपाएर आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तर, कसैले कुनै चासो नै छैन् । जनताप्रति कोही उत्तरदायी छैनन् । कसरी हुन्छ व्यापारीलाई पोसौं, आफ्नो क्षेत्रमा बजेट हालौं र भ्रष्टाचार गरौं भन्नेमा मात्र जनप्रतिनिधिको ध्यान छ ।
सरकारले के यिनले घच्घचाउनु ? यस्ता सांसदले देशको अनुहार फेर्ने रे ? सांसद देख्दा जनतालाई घृणा लागेर आउँछ । मुलुकका प्रमुख र अन्य उच्च पदस्थहरुलाई जनताले कुन रुपमा हेर्दा रहेछन् ? भन्ने त केही दिनअघि प्रमाणित भइसक्यो । इन्द्रजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेलदेखि ठूल्ठूला व्यक्तिहरुको वसन्तपुरमा सवारी भएको थियो । तर, कसैले पनि उनीहरुको नाम लिन चाहेनन् । सर्वसाधारणले अरुलाई अनदेखा गरे र बालेन भन्दै कराए । जनतामा चेतना आइसकेछ भन्ने कुरा त्यो कार्यक्रमबाट पुष्टि भयो । जनता काम गर्नेको पक्षमा उभिए । जनता अब पार्टीको झोले होइन्, एउटा जिम्मेवार नागरिक बनिसकेका छन् । राजनीतिक दलले दिएका आश्वासन, खोक्रा भाषणदेखि जनता आजित भइसकेका छन् । कहिले एमाले त कहिले कांगे्रसलाई जनतालाई भोट दिए ।

जनताले सबै पार्टीको काम हेरे । कांग्रेसले गरेन् एमालेलाई दिऔं, एमालेले गरेन् माओवादीलाई दिऔं । यही क्रम चलिरह्यो । जनतासँग योबाहेक विकल्प भएन् । घुम्दै घुम्दै उनीहरु त्यही ठाउँमा आएर ठोक्किन्थें । राजनीतिक पार्टीहरुले पनि यसको फाइदा उठाए । त्यसले गरेन् अब हामी गर्छौं भनेर जनतालाई हरबखत झुक्काइयो । यता, जनताले पनि पार्टीको सदस्यता लिँदा यो अवस्था बन्यो । जनता निष्पक्ष हुनुपथ्र्यो तर उनीहरु पार्टीको सदस्य भए । अहिले उनीहरुलाई आफ्नो गल्तीको आभास भइरहेको छ । नेताहरु कस्ता हुन्छन् ? नेता हुने गुण राज्य सञ्चालकहरुसँग छ ? नेता त्यागी हुन्छ । देश र जनताका लागि नेता मर्न पनि तयार हुन्छन् । जनताको सुःखमा रमाउने र दुःखमा साथ दिने गुण नेतामा हुन्छ । तर, हामीकहाँ ठ्याक्कै उल्टो छ ।
जसरी हुन्छ आफ्नै धोक्रो भरौं भन्छन् । जनता मरुन कि बाँचुन् यिनीहरुलाई कुनै मतलब छैन् ।

आफ्नो स्वार्थका लागि देश बेच्न पनि तयार हुन्छन्, यिनीहरु । यिनीहरुको कारण नेता शब्द नै बद्नाम बनेको छ । यिनीहरुलाई नेता होइनन्, दलाली हुन् । जनतालाई आफ्नो कुरामा घुमाइरहने अनि फाइदा लिइराख्ने । मँहगी बढाउने, भ्रष्टाचार गर्ने अनि हामी देश र जनताको लागि काम गर्छौं भन्न यिनीहरुलाई लाज लाग्नुपर्दैन् ? यिनीहरुको पछाडि लाग्ने होइन्, पोल खोल्नतिर लाग्ने बेला भएको छ । मँहगी बढेको यिनीहरुको कारणले होइन् ? सडकमा मागेर खानेहरु यत्तिकै छन् । स–साना बच्चाहरु सडकमा माग्न बसेका छन् । खान नपाएर पेट्रोल खन्याउने स्थिति बनेको छ । तातो घाममा काम गर्न जनता खाडी छिरेका छन् । बच्चा जन्माएको एकाध दिनमै आमा रोजगारीका लागि विदेश जान्छन् ।

गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आधारभूत हकअधिकारबाटै जनता वञ्चित छन् । उपचार नपाएर जनता सडकमा छट्पटाएका छन् । २४ अर्ब विदेशी ऋण पुगिसकेको छ । जनतालाई योभन्दा धेरै सुविधा के चाहियो ? यिनीहरुले अब गर्न केही बाँकी छ ? अझैपनि नेता भनेर यस्ता फट्याहाहरुको पछि लाग्ने ? जनताले तिरेको करबाट करोडौंको गाडी चढ्ने, करोडौंको घडी बाँध्ने, दिनमा पाँचचोटि लुगा फेर्ने अनि हामीचाँहि जहिले मर्ने ? जसलाई समयको महत्व थाहा छैन्, उसैले करोडौंको घडी बाँधेको छ । एउटा उखान छ,‘गर्नेलाई भन्दा देख्नेलाई लाज ।’ यहाँ त्यस्तै भएको छ । यिनीहरुले देश बेचिसकें । नयाँ पार्टी रास्वपाले चुनावको बेलामा त ठूल्ठूलो भाषण ठोकेका थिए । मेरा पार्टीका सांसदले तलबभत्ता लिँदैनन्, सरकारी गाडी चढ्दैनन् भन्ने त रवि लामिछाने हुन् । अहिले त सरकारी पनि चढ्छन्, तलबभत्ता पनि बुझ्छन् ।

सबैको जनतालाई भ्रमित बनाएर भोट लिने ‘स्टन्टबाजी’ मात्र हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सुःखी नेपाल, सुःखी जनता’ भन्दै भोट मागे । तर, जनतालाई सबैभन्दा धेरै दुःखी बनाउने एमाले नै हो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोट माग्ने बेलामा प्रधानमन्त्री बन्छु भनेका थिए । यद्यपि, कुनै संकेत देखिँदैन् । अबपनि यस्ता दलालीको पछाडि लाग्ने ?
यस्ता दलालीको अन्याय र अत्याचार कहिलेसम्म सहेर बस्ने ? जनताले माग्दा आफ्नो हकअधिकार पाएनन्, अब खोस्नुपर्ने बेला भएको छ । देशको चौंथों अंग सञ्चारमाध्यम राजनीतिक दलको होइन्, जनताको आवाज बन्नुपर्यो ।
अनुसा थापा
भक्तपुर