• गृहपृष्ठ
  • खाेकनाकाे श्री रुद्रायणी देवीको १२ वर्ष मेला सुरू

खाेकनाकाे श्री रुद्रायणी देवीको १२ वर्ष मेला सुरू

Oct 15th, 2023

ललितपुर, असाेज २८

खोकनामा ऐतिहासिक १२ वर्षे मेला सुरु भएको छ । ललितपुर महानगरपालिका २१ र रुद्रायणी गुठीले आज आइतबार पत्रकार सम्मेलन गरी सो जात्राको ऐतिहासिक तथा सांस्कृतिक विविध पक्षबारेमा जानकारी दिएको छ ।

खोकनाको ऐतिहासिक महत्वपूर्ण जात्रा हरेक वर्ष भव्य र सभ्यरुपमा मनाइँदै आइएको छ । यो जात्रामा रुद्रायणी मन्दिरमा रुद्रायणी देवगणहरुलाई एक महिनाका लागि विधिवत पूजाअर्चना गरी गुप्तवास राखिन्छ ।

त्यस क्रममा खोकना गढ़ पर्खालभित्र नुहाउने, लुगा धुने, छालाका सामानहरु लगाउने, कुखुराको मासु, अण्डा, पूजामा रातो टीका, घण्टी बजाउने, मनोरञ्जनात्मक कार्यहरु गर्ने, भोज भतेर आदिमा कार्यहरुमा पूर्ण रुपमा प्रतिबन्ध गरिन्छ ।

खोकनाभित्र अवस्थित श्री खण्ड भवानीमा यी कुनै कार्य गरिँदैन किनकि यो समयमा रुद्रायणी मन्दिर भित्र रहेका सबै देविदवताहरु गुफामा रहेका हुन्छन् भन्ने मान्यता छ । तर संरक्षण तथा सुरक्षाका सबै कार्यहरु भने गर्नु पर्ने हुन्छ ।

यस समयमा माथि प्रतिवन्धित कार्य भए पनि श्री खण्ड भवानी मन्दिरमा अवस्थित श्री खण्ड भवानीमा प्रत्येक दिन बिहान नृत्य पूजा गर्नु पर्छ । साथै सो पूजामा अनिवार्य रुपमा रक्त चन्दनको रातो टीका र श्रीखण्डको सेतो टीका राखेर नृत्य पूजा गर्नु पर्छ ।

१२ बर्षे मेला जात्रा मनाउने क्रममा मुख्य रुपमा रहेको जात्रा असोज शुक्ल तृतीयालाई लिइन्छ । अरु जात्राहरु योभन्दा अघिल्लो वर्ष जसरी चलाइँदै आएको छ यो वर्ष पनि त्यसरी नै चलाइन्छ ।

यस दिन अर्थात् ढोका बाहिर चोखो राँगा काट्ने दिन देःसा (दया) मनाइन्छ । उक्त देःसा जात्रा शुरु गर्नुअघि असोज महिनाको द्वितीयाका दिन श्री रुद्रायणी देवगणहरुबाट आफ्नो शक्ति सञ्चयस्वरुप विभिन्न स्थानहरुमा भगवान लिने जाने अर्थात् ‘द्यो का वनेगु’ कार्य गरिन्छ ।