• गृहपृष्ठ
  • माछापुच्छ्रे सहकारीले बचतकर्ताको ९ करोड हिनामिना, सञ्चालक सम्पर्क विहीन

माछापुच्छ्रे सहकारीले बचतकर्ताको ९ करोड हिनामिना, सञ्चालक सम्पर्क विहीन

Oct 14th, 2023

काठमाडौंर असाेज २७

माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ९ करोड हिनामिना गरेको छ ।

विराटनगरका ५ सय बचतकर्ताको रकम माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले फिर्ता गरेको छैन ।

उक्त सहकारीले सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा पनि सेवा केन्द्र सञ्चालन गरेको थियो ।

मंगलबार सहकारीबाट पीडित भएकाहरुले पत्रकार सम्मेलन गर्दै आफ्नो रकम फिर्ता गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

सहकारीको कार्यालय बन्द गरेर सञ्चालक सम्पर्क विहीन भएपछि कार्यालयले जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले अध्यक्ष अमलेश कर्णसहित ४ जना सञ्चालकले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहितको प्रतिवेदन कार्यालयलाई बुझाएको छ।

हिनामिना भएको रकमको आधा रकम सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले तिर्नुपर्ने देखिएको थियो । कार्कीले मात्रै ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ खर्च हिनामिना गरेको छानबिनका क्रममा देखिएको थियो । समितिले कार्कीबाट सोही बराबरको रकम संकलन गर्न सुझाव दिएको थियो । कार्कीले दुई वटा बैंकबाट ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको छानबिन समितिले जनाएको छ ।

सहकारीका पूर्वसचिव तथा सञ्चालक प्रभाकर थापाले एक करोड ६० लाख ३३ हजार ४०२ रुपैयाँ हिनामिना गरेको देखिएको थियो । सहकारीका अध्यक्ष अमलेश कर्णले एक करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ गोलमाल गरेको प्रतिवेदनमा छ । सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ हिनामिना गरेको देखिएको थियो ।

सहकारीले बचतकर्ताबाट उठाएको मध्ये एक करोड ५१ लाख १० हजार २३८ रुपैयाँ ऋण लगानी गरेको छ । सर्वसाधारणबाट संकलन भएको ९ करोड २५ लाख ९१ हजार रुपैयाँ मध्ये ६ करोड २८ लाख ६३ हजार ८२५ रुपैयाँको अपारदर्शी रुपमा खर्च गरेको थियो ।