• गृहपृष्ठ
  • वाणिज्य विभागको एक्सनः गैरव्यावसायिक क्रियाकलाप गर्ने एक सय ७७ फर्म कारबाहीमा

वाणिज्य विभागको एक्सनः गैरव्यावसायिक क्रियाकलाप गर्ने एक सय ७७ फर्म कारबाहीमा

Oct 14th, 2023

काठमाडौ २७ असोज

काठमाडौँ उपत्यकाभित्रका दैनिक उपभोग्य खाद्यान्न, माछामासु, औषधि तथा तरकारीजन्य छ सय ७९ व्यावसायिक फर्मको अनुगमन गर्दा एक सय ७७ फर्ममा कसूर भेटिएको छ । गैरव्यावसायिक क्रियाकलाप गर्ने ती फर्ममाथि कारबाही भएको छ । वाणिज्य विभागले ति फर्मको अनुुगमन गरी कसूर भेटिएका फर्मलाई ५४ लाख ६७ हजार जरिवाना तिराएको छ ।

विभागले एक सय ८५ फर्मसँग थप कागजात माग तथा दुई सय ९३ फर्मलाई व्यावसायिक सुधारका लागि निर्देशन दिएको छ । विभागबाट खटिएको अनुगमन टोलीले जीरा, चिनी, पिउने पानीलगायत काठमाडौँ उपत्यकाका नौ वटा खाद्यजन्य वस्तु सञ्चय गर्ने व्यवसायीको गोदाम र व्यापारिकस्थल सिलबन्दी गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार अनुगमनका क्रममा कुलेश्वरबाट जफत गरेको ७० हजार मेट्रिकन चिनी साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियत दरमा बिक्री गरिरहेको छ । उक्त चिनी साल्ट ट्रेडिङले प्रतिकिलो एक सय एक रुपैयाँ ५० पैसामा खरिद गरी सुपथ मूल्य पसलमार्फत प्रतिकिलो रु ९७ मा बिक्री गरेको हो ।

बजारमा देखिएको चिनीको अभावलाई न्यूनीकरण गरी आपूर्ति प्रणाली सहज गर्न स्वदेशी उद्योगले अन्य औद्योगिक प्रयोजनका लागि अग्रिम बिक्री सम्झौता गरिसकेको एक हजार मेट्रिक टन चिनी उपभोक्ताको सहज पहुँच पुग्ने गरी बजारमा पठाउने तयारी गरिएको छ ।

चिनी सञ्चय गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यवसायीको गोदामस्थल पहिचान गरी कारबाही गर्ने तथा सञ्चय गरेको चिनीलाई सहज र वास्तविक मूल्यमा बजारमा आपूर्ति गराउन निरन्तर लागि परेको विभागले जनाएको छ ।

त्यस्तै जीराको अस्वाभाविक मूल्यवृद्धि भइरहेका सन्दर्भमा विभागले सूक्ष्म अनुगमन गरिरहेको छ ।
चोभारस्थित एक गोदामस्थलबाट २५ हजार किलो जीरा सञ्चय भएको पाइएको र उक्त जीरा तुरुन्त बजारमा प्रवाह गर्नेगरी काम अगाडि बढाइएको विभागले जनाएको छ ।