• गृहपृष्ठ
  • दुई महिनामै उठ्याे एक अर्ब १७ करोड १३ लाख राजश्व

दुई महिनामै उठ्याे एक अर्ब १७ करोड १३ लाख राजश्व

Oct 12th, 2023

काठमाडौं २५ असाेज

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौं महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । 

चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख धुर्व काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४ करोड बढी राजस्व असुल भएको छ ।  

चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु. ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए । त्यसैगरी सम्पत्ति करबाट रु. २५ करोड असुल भएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेको भनाइ छ ।

गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै ६४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्यरूपमा बढेका छन् ।  पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् ।