दोहोरो अंकले घट्यो नेप्से

Oct 9th, 2023

काठमाडौं, असाेज २२

सेयर कारोबार मापक नेप्से परिसूचकको घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार करिब साढे ३६ अंकले घटेको नेप्से सोमबार १२.५८ अंकले घटेको हो । योसँगै नेप्से १ हजार ९ सय ८.६६ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.६५ प्रतिशतले कम हो ।

नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको थियो । यसलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको रूपमा विश्लेषण गरिएको छ । पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रुपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ ।

सोमबार ४६ हजार १ सय २७ कारोबारबाट ४३ लाख २७ हजार १७९ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब १७ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत आइतबार सेयर बजारमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये १५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६६ वटा कम्पनीको बढ्यो भने १० वटाको सेयर मूल्य स्थिर छ ।