• गृहपृष्ठ
  • नेपाल वायुसेवा निगम र निजी क्षेत्रका राष्ट्रिय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर

नेपाल वायुसेवा निगम र निजी क्षेत्रका राष्ट्रिय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर

Oct 5th, 2023

काठमाडौं, १८ असोज
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले निजी क्षेत्रका संस्थासँग सहकार्य गरी द्धिपक्षीय लाभ हासिल गर्ने उद्देश्यले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको अध्यक्षता तथा सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र राष्ट्रिय व्यवसायिक पहल (नेशनल बिजनेस इनिसिएटिभ) गरी चारवटा संस्थाहरुसँग सम्झौता गरिएको छ । सम्झौतामा उक्त संस्थामा आवद्ध पदाधिकारी, सदस्यहरु, कर्मचारी र तिनका परिवारले यात्रा गर्दा निगमको जहाजबाट यात्रा गर्ने, उक्त संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा निगमको प्रवर्धन गर्नुपर्ने र निगमले भाडादरमा १५ प्रतिशत छुट दिने व्यवस्था भएको छ ।

सम्झौता पत्रमा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युबराज अधिकारीले हस्ताक्षर गर्नु भयो भने नेपाल उद्योग बाणिज्य महासंघका तर्फबाट NYEF का प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, नेपाल उद्योग परिसंघका तर्फबाट युवा उद्यमी मञ्च (CNIYEF) कोशी प्रदेशका अनमोल प्रधान, नेपाल च्याम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल र राष्ट्रिय व्यवसायिक पहल (नेशनल बिजनेस इनिसिएटिभ) का तर्फबाट अध्यक्ष कुशकुमार जोशीले हस्ताक्षर गर्नुभयो ।

उक्त कार्यक्रममा निगमका सञ्चालक समिति सदस्यद्वय सुधिर शमसेर राई र अमृतमान श्रेष्ठको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा निगमका वाणिज्य विभाग निर्देशक टंकनिधि दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालक समिति सदस्य किशोर प्रधान र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले कार्यक्रमको उद्देश्य र प्रभावकारिता माथि प्रकाश पार्नुभएको थियो । यसबाट उक्त संस्थासँग आबद्ध व्यवसायी सदस्यहरु लाभान्वित हुने तथा निगमको व्यापार व्यवसाय समेत प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।