काठमाडौं, असोज ४
आगामी असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा फर्निचर एक्स्पो हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले असोज १० देखि १४ गतेसम्म एक्स्पो गर्ने भएको हो । आयोजकले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् एक्स्पोको घोषणा गर्दै एक्स्पोका लागि स्टल बुकिङ खुला गरेको छ । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रमस्थलमै ५० प्रतिशतभन्दा बढी स्टल बुकिङ भएको संघले जनाएको छ ।
नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । “आर्थिक गतिविधिहरु सुस्त भइरहेका बेला एक्स्पोले बजार चलायमान बनाउन सघाउने विश्वास लिएका छौं, स्टल बुकिङ खुल्ला भएको छ, फर्निचर व्यवसायमा आबद्ध व्यवसायीहरुलाई सहभागिताका लागि संघ अनुरोध गर्दछ,” अग्रवालले भने ।
यस्तै, संघका महासचिव संजय लामाले मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर तथा फर्निसिङ्गका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने जिकीर गरे ।
एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहनेछन् । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्नकालागि सहज मार्ग निर्देशन गर्नेछ भने ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्धारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन भूमिका खेल्ने विश्वास आयोजकको छ ।
साथै फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्ने एक्स्पोको उद्देश्य छ ।