• गृहपृष्ठ
  • कृषि विकास बैंक र घरघरमा डाक्टरको सम्झौता : बैंकिङ कारोबार तथा ५ लाखको दुर्घटना बिमा

कृषि विकास बैंक र घरघरमा डाक्टरको सम्झौता : बैंकिङ कारोबार तथा ५ लाखको दुर्घटना बिमा

Sep 19th, 2023

काठमाडौं, असोज २

कृषि विकास बैङ्कले व्यावसायिक विविधता कायम गर्दै बैङ्किङ बजारमा आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै लगेको छ । हालै बैङ्क र घर–घरमा डाक्टर प्रालिबीच व्यावसायिक सहकार्यको सम्झौता भएको छ।

घरघरमा डाक्टरले रोग निधान तथा प्रतिरक्षाका लागि सरसल्लाहसहितको उपचारको प्रबन्ध गर्दछ भने कृषि विकास बैङ्कले घरघरमा डाक्टरका ग्राहकहरूको ५ लाखको दुर्घटना बिमासहितको बैङ्क खाता खोली कारोबारमा सहजता कायम गर्दछ।

सरकारी बैङ्कहरूमा कृषि कर्जाका लागि उत्कृष्ट रहेको बैङ्कले गैर कृषि व्यवसायमा समेत दक्षता हासिल गरी कार्य गरिरहेको छ। घरघरमा डाक्टरका अध्यक्ष हेमा जिसी र कृषि विकास बैङ्कका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी कारोबारको विधिवत् सुरुआत गरेका छन्।

सम्झौता पत्र आदान–प्रदान गर्दै घरघरमा डाक्टरका अध्यक्ष जिसीले सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको र यसको लाभ स्वाभाविक रूपमा दुवैलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धमा परामर्श तथा उपचार पद्धतिका सम्बन्धमा सचेतना अभिवृद्धि गर्नसकेमा जनताको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने कुरा व्यक्त गरे।

कृषि विकास बैङ्कसँग कारोबार गर्दा थप गौरव महसुस गर्दै अध्यक्ष जिसीले आजको सरकारी बैङ्क अन्य निजी क्षेत्रका बैङ्कभन्दा अब्बल रहेको र बैङ्किङ कारोबार तथा ग्राहक सेवामा समर्पित रहेकोले कृषि विकास बैङ्कसँग बैङ्किङ कारोबार गर्न घरघरमा डाक्टर तत्पर रहेको उल्लेख गरे।

बैङ्कका उपमहाप्रबन्धक न्यौपानेले घरघरमा डाक्टरका देशभरि रहेका सेवाग्राही र कर्मचारीको तलब बचत खातालगायत कर्जा, बैङ्क जमानत तथा प्रतीत पत्र कारोबारसमेत बैङ्कले गर्ने गरी भएको सम्झौताका लागि हार्दिक धन्यवाद व्यक्त गरे। उनले बैङ्क सधैँ ग्राहक सेवामा समर्पित रही गुनासोरहित सेवा प्रदान गर्न तत्पर रहेको बताए।

यो सम्झौतामा बैङ्कले घरघरमा डाक्टरका सेवाग्राहीको रु ५ लाख बराबरको दुर्घटना बिमासहितको बैङ्क खाता खोल्ने छ भने घरघरमा डाक्टरका कर्मचारीका लागि विना धितो कर्जा दिनेछ।

यसका अतिरिक्त तलब खातामा बैङ्कका विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेछ। घरघरमा डाक्टरले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैङ्कका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैङ्कले तालिम सञ्चालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ।