• गृहपृष्ठ
  • किशोरीहरुलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

किशोरीहरुलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

Sep 13th, 2023

काठमाडौं, भदाै २७

किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेशन’का रूपमा दिइन थालिएको हो । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’को उद्घाटन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गर्नुहुने छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइन थालिएको जानकारी दिनुभयो ।

आज मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ । खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।

आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ । पहिलो मात्रा जहाँ लगाएको हो त्यही नै दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । महाशाखाका निर्देशक डा विवेककुमार लालले विश्व स्वास्थ्य सङ्गठनले पनि प्रमाणीकरण गरेको एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताउनुभयो । 

एचपिभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन् । खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ ।