• गृहपृष्ठ
  • २२४ सहकारीमा ६ हजार उजुरी , एक हजारले बुझाएनन् वार्षिक विवरण

२२४ सहकारीमा ६ हजार उजुरी , एक हजारले बुझाएनन् वार्षिक विवरण

Sep 8th, 2023

काठमाडौँ २२ भदौ

काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ९५५ ले मात्रै नियमितरूपमा वार्षिक विवरण पेस गरेका छन् । यो कूल संख्याको ५० प्रतिशत हो । हाल कामपामा १ हजार ९५३ सहकारी सञ्चालनमा छन् । विवरण पेस नगर्ने सहकारीको संख्या ९ सय ९८ छ ।

कामपा सहकारी विभागका अनुसार सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको छ ।

नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने तयारीमा महानगर छ । महानगरले विवरण पेस गर्नका लागि विभागले दिएको पटकपटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको हो ।

हाल कामपामा सहकारी संस्थाको वार्षिक १ खर्ब रुपैयाँको कारोबार रहेको अनुमान गरिएको छ । सहकारीले ठगी गरेको उजुरी पनि प्रशस्तै आउने गरेका छन् । पाँच वर्षको अवधिमा कामपाका २२४ सहकारीमा ६ हजार उजुरी परेको जनाइएको छ ।

संवैधानिक व्यवस्थाअनुसार वि।सं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो । कामपामा सोही ऐनअनुरुप सहकारी सञ्चालन भइरहेका छन् ।