• गृहपृष्ठ
  • नोटको जतन गरौं, सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर साना नोट पनि छापौं !

नोटको जतन गरौं, सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर साना नोट पनि छापौं !

Sep 4th, 2023

काठमाडौं, भदौ १८
पछिल्लो समय बजारमा एकदुई रुपैयाँको सिक्का देखिन छाडेको छ । सरकारले पनि सिक्का निकाल्न बन्द गरिसकेको छ । नेपाल राष्ट्र बैंकले सिक्का ननिकाल्दा यसको सिधा मार सर्वसाधारणलाई परेको छ । सिक्काको अभाव देखाउँदै व्यापारीहरु पैसा नै फिर्ता गर्दैनन् । यातायातमा पनि त्यस्तै छ । सरकारले एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १८ रुपैयाँ तोकेको छ ।
यात्रुले २० रुपैयाँ दिन्छन् । सिक्का नभएको भन्दै सहचालक दुई रुपैयाँ फिर्ता नै गर्दैनन् । यसरी नै दैनिक लाखौं यात्रुबाट बढीबढी रकम उठाइन्छ । सिक्का मात्रै होइन्, पाँच–दश रुपैयाँको पनि अभाव हुन थालेको छ । सहचालक पाँच रुपैयाँको चानचुन छैन् भन्छन् अनि पैसा फिर्ता गर्दैनन् । सर्वसाधारणहरु होस् त भनेर छोडेर हिँड्नुपर्ने हुन्छ । अहिले अधिकांश गाडीमा यो अवस्था देखिन्छ ।

चानचुन नभएको बहानामा पैसा फिर्ता नगर्ने । दुई रुपैयाँ, पाँच रुपैयाँ गर्दै यातायात व्यवसायीले यात्रुबाट दैनिक करोडौं रुपैयाँ ठग्छन् । पसलमा पनि त्यस्तै छ । चानचुन छैन भन्ने सामान भिडाउने । सरकारले सानो नोट नछापिदिँदा व्यापारीहरुले आफ्नो व्यापार बढाइरहेका छन् । तीन दशकअघि सुका, मोहोर, पैसा, रुपैयाँ पाउँथ्यो । पाँच पैसा पनि फिर्ता पाइथ्यो । तर, अहिले त दुई रुपैयाँकै चलनचल्ती हराइसकेको छ । सिक्का त इतिहास बन्न थालिसकेको छ । पहिले सबै पैसा सिक्कामै हुन्थ्यो । ती पैसा पानीमा हाल्दापनि नगल्ने र अबिर लाग्दा पनि नबिग्रिने खालका हुन्थें । नेपालीहरु धर्मलाई धेरै मान्छन् । रुद्री लाइन्छ, श्राद्ध गरिन्छ, चाडपर्व मनाइन्छ । जुनसुकै पूजा गर्दा होस् अहिले नोट चढाइन्छ । चानचुन नभएपछि के गर्ने ?

अनि नोटभरि अबिरै अबिर हुन्छ । राष्ट्र बैंक नोट जतन गर्नु भनेर बेलाबखत सूचना जारी गरिरहेको हुन्छ । सिक्का नै निकाल्दैन्, अनि नोट कसरी जतन हुन्छ ? मन्दिरहरुमा पूजाआजा गर्दा भक्तजनहरुले नोट नै चढाउँछन् । अबिर लागेका हातले नोट समात्दा रातो पहेँलो भएको हुन्छ । त्यसमाथि नै जल चढाइन्छ । जसका कारण नोट कामै नलाग्ने हुन्छ । त्यही ठाउँमा सिक्का भइदिएको भए नोट बिग्रिँदैनथ्यो । नोट छाप्न राज्यको ठूलो लगानी लाग्छ । तैपनि हेलचेक्य्राइँ गरिएको छ । बाटोमा यत्तिकै माग्न बसेका हुन्छन् । यता, घरघरमा माग्न आइरहेका हुन्छन् । अहिले बाटो हिँड्नेहरुले माग्न बसेकालाई पैसा दिन छोडेका छन् । चानचुन पैसा हुँदैन्, ठूलो पैसा दिनलाई लोभ लाग्छ । १०–२० रुपैयाँ दिन लोभ लाग्ने भएकाले सिँधै छैन्, भनिदिन्छन् । राष्ट्र बैंकले व्यवसायीहरुको फाइदा हेर्यो ।

सर्वसाधारणलाई परेको असर राष्ट्र बैंकले अनदेखा गरेको छ । दुई रुपैयाँ पनि पैसा हो । बिहानबेलुका दुई पटक गाडी चढ्दा चार रुपैयाँ फोगट्टे सहचालकलाई दिनुपर्छ । महिनाभरि त्यो पैसा जम्मा गर्ने हो भने एउटा सामान किन्न पुग्छ । सरकारले दुई दशकअगाडि २५ रुपैयाँ र २५० रुपैयाँको नोट छापेको थियो । जुन केही वर्ष चल्यो, त्यसपछि बन्द गरियो । अबको पुस्तालाई त सिक्का भन्ने नै थाहा नहुने भो । ‘सिक्का पनि थियो र ?’ भन्ने हुन्छ । सिक्का लोप हुने अवस्थामा पुगिसकेको छ । बालबच्चाले किताबमा पढ्न पाउलान् तर हेर्न नपाउने भए । नेपालमा धेरै खालका मुद्रा चलनचल्तीमा आए । राणा शासनदेखि अहिलेसम्म अनेकथरीका मुद्रा आयो । तर, कुनकुन मितिमा कुन मुद्रा आयो ? यो राष्ट्र बैंकले सार्वजनिक गर्दैन् । न किताबमै उल्लेख छ । जसको कारणले इतिहास संकटमा पर्यो ।

सरकारले हरेक वर्ष दशैंमा नयाँ नोट निकाल्छ । साता दिनअगाडिदेखि नोट दिन थालिन्छ । टिकाको दिन आशिर्वादसँगै नयाँ नोट दिने चलन हामीकहाँ छ । टिका लगाएकै हातले पैसा दिँदा नोट त्यतिबेलै बिग्रिन्छ । राष्ट्र बैंकले नोट निकालेको महिनादिन पुगेको हुँदैन्, बजारमा पुगेको नोट सबै पुरानो भइसकेको हुन्छ । राष्ट्र बैंकले नोट निकाल्न गर्ने खर्च ‘वालुवामा पानी’ सरह भएको छ । नेपालीहरुको अति खराब बानी छ । कागजमा होइन्, नोटमा लेख्छन् । नोटभरी केरिएको हुन्छ । यता, दाँत कोट्याउन पनि नोटकै प्रयोग गर्छन् । नोट बटारेर दाँत कोट्याउछन् । कच्याककुचुक पारेर नोट गोजीमा हाल्छन् ।
बैंकहरुले पनि लापरवाही गरिरहेको देखिन्छ । नोटमा स्टिच लगाएर दिन्छ । त्यो स्टिच निकाल्दा पैसा नै च्यातिन्छ । सर्वसाधारणमा मात्रै होइन्, बैंकका कर्मचारीमा समेत जनचेतनाको अभाव छ । नोट छाप्दा राज्यको खर्च भइरहेको छ भनेर कसैले सोचेको देखिँदैन् । राज्यको खर्च हुनु भनेको जनताले तिरेको कर सकिनु हो । सबैले नोट जतन गरिदिने हो भने त्यो केही वर्ष टिकाउन सकिन्छ ।

राज्यले वर्षैपिच्छे नोटका लागि गर्ने खर्च पनि बन्द हुन्छ । तर, यो अवस्थालाई हेर्दा राज्यले नै जनतामा जनचेतना फैलाउन नसकेको देखिन्छ । जनतालाई नोटको कसर प्रयोग गर्ने ? भनेर सिकाउन राज्य चुकेको छ । देशमा विज्ञापन बोर्ड छ । विज्ञापन बोर्डले समेत जनतामा सचेतना फैलाउने काम गरेको छैन् । पैसाको महत्व सर्वसाधारणले समेत बुझेका छैनन् । नोट विगार्नुहुँदैन् भन्ने कुरामा सर्वसाधारणले समेत ध्यान पुर्याएका छैनन् । पैसालाई खोस्टा सोचिएको छ । सहचालकले हातभरि पैसा कच्याककुचुक पारेर राखेका हुन्छन् । पसलमा पनि त्यस्तै हुन्छ । अभिभावकले पनि आफ्नो बालबालिकालाई नोटको जतन गर्नुपर्छ भनेर सिकाएका हुँदैन् । स्कुल त घोक्ने ठाउँ भइहाल्यो ।

किताबमा लेखेको घोकाउने, बाहिरी ज्ञान केही नदिने । नोट कसरी प्रयोग गर्ने ? कसरी जतन गर्ने ? शिक्षकले सिकाएका हुँदैनन् । बैंकका कर्मचारीलाई त यो कुरा थाहा हुनुपर्ने हो । सबैभन्दा धेरै पैसा खेलाउने बैंकका कर्मचारी नै हुन् । विडम्बना, बैंकका कर्मचारीलाई नै नोट जतन गर्नुपर्छ भन्ने थाहा छैन् । स्टिच लगाएर पैसा दिने कि रबरले बाँधेर ? यति त छुट्याउन सक्दैनन् । नोटमा थुक लगाउने, मसी पोख्नेलगायतका काम पनि भइरहेका छन् । वर्तमान राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र र जनताको हितमा काम गर्न खोजेको देखिँदैन् । उनीसँग कुनै काम गर्ने भिजन नै छैन् । क्षमता नभएको व्यक्तिलाई राष्ट्र बैंकको गर्भनर बनाउनुको असर हो यो । गर्भनर अधिकारी कहिले शेयर दलालीको अगाडि लम्पसार पर्छन् त कहिले उद्योग व्यवसायीको । पार्टीको आडमा अर्थमन्त्री बन्ने, गर्भनर बन्ने काम हुँदा यस्तो अवस्था सिर्जना भएको हो ।

देशमा यत्रा अर्थविद् छन् । तर, उनीहरुको ज्ञान पनि किताब केन्द्रीत मात्र भयो । देशमा के आवश्यकता छ ? जनता र राष्ट्रका लागि के गर्दा हित हुन्छ ? यस्तो विषयमा कसैले सोचेको पाइँदैन् । नोट जति टिक्यो, राज्यलाई त्यति नै फाइदा हो । तर, नोट टिकाउन सम्बन्धित निकायले नै ठोस् कदम चालेको छैन् । सरकारले वर्षैपिच्छे नोट छाप्छ । त्यो पैसा कुन अवस्थामा छ ? कति काम नलाग्ने भइसक्यो ? यसको विवरण राष्ट्र बैंकसँग छैन् । बजारमा पैसा पठाएपछि आफ्नो जिम्मेवारी नै सकिएझैं गर्छ, सरकार । सर्वसाधारणले पैसा जलाऊन् कि टुक्राटुक्रा पारुन्, सरकारलाई मतलब नै छैन् । सरकारले हेरेन् भन्दैमा सर्वसाधारणले पनि मनलाग्दी गर्नु भएन् । पैसा पट्याएर राम्रोसँग राख्नुपर्यो । गोजीमा पनि मिलाएर राख्नुपर्छ । पैसा छाप्न जनताले तिरेको कर खर्च हुने हो । त्यो पैसालाई बिगार्नु आफैंलाई नोक्सानी गर्नु हो । अब सरकारले साना पैसा पनि छापोस् ।