• गृहपृष्ठ
  • कार्यान्वयनमा जाँदै एमसिसी, ५ वर्ष भित्रै सम्पन्न होला त परियोजना ?

कार्यान्वयनमा जाँदै एमसिसी, ५ वर्ष भित्रै सम्पन्न होला त परियोजना ?

Aug 30th, 2023

काठमाडौ १३ भदौ

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आजबाट कार्यान्वयनमा जाँदै छ।आज दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रम गरी सरकारले एमसिसी कार्यान्वयनमा गएको घोषणा गर्ने छ ।

सो कार्यान्वयनमा गएको घोषणा भएसँगै एमसिसीको पाँच वर्षे अवधि पनि गणना सुरू हुनेछ। जस अनुसार एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ।

यस कार्मक्रम अन्तरर्गत ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मत आयोजना रहेका छन्। एमसिसीअन्तर्गत नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को भुमहीमा ४०० केभी क्षमताका सबस्टेशन समेत बनाउन लागिएको छ।

प्रसारण लाइनअन्तर्गत पहिलो खण्डमा लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडासम्मको ११७ किमि लामो प्रसारण लाइन बनाइने छ भने दोस्रो खण्डमा रातमाटेदेखि नयाँ दमौलीसम्मको ९० किमि र तेस्रो खण्डमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि र नयाँ बुटवलदेखि नेपाल(भारत सीमासम्मको १८ किमिको प्रसारण लाइन बनाइने छ। यी सबै आयोजनाहरू कार्यान्वयनमा गएको पाँच वर्षभित्र सकिनै पर्ने एमसिसी सम्झौतामा उल्लेख छ।

यस कार्यक्रमका लागि एमसिसीका सम्झौता कार्य(सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून एलफोर्ड काठमाडौं आएका छन्। साथै अमेरिकी दूतावासले नेपालमा एमसिसीको कार्य अवधिभर बृहत्तर सरोकारवालाहरू, नेपालका सरकारहरू र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र सो कार्यक्रम कार्यान्वयनमा लैजान सम्भव भएको जनाएको छ ।