• गृहपृष्ठ
  • आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान गर्दै नेपाल एयरलाइन्स

आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान गर्दै नेपाल एयरलाइन्स

Aug 29th, 2023

काठमाडौं, भदाै १२

नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको छ ।

बिहान ९ बजे भैरहवाबाट काठमाडौँ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य देशमा पठाइनेछ । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

भैरहवाबाट हरेक मङ्गलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ । तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिनसक्नेछन् ।