२६ भदौदेखि नाडा अटो शो

Aug 28th, 2023

११ भदौ, काठमाडौं ।

आगामी २६ भदौदेखि नाडा अटो शोको १५ औं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ । ६ दिनसम्म चल्ने शोमा १२० वटा स्टलहरु रहने र ४५ वटा सवार साधनका ब्राण्डहरु सहभागी हुने नेपाल अटोमोबाइइल एसोसिएसन (नाडा) ले जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर शोको सम्पूर्ण तयारी सकिएको जानकारी एसोसिएसनले गराएको हो ।काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीले अर्थतन्त्र चलायमान बनाउन मद्धत पुग्ने नाडाले जनाएको छ ।

प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरु रहने आयोजकले जनाएको छ । प्रर्दशनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने जनाएको छ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुले सहभागिता जनाउने छन् ।

प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने जस्तै वित्तीय सेवा, बिक्रीपछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छ । ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा रहने छ ।अवलोकनकर्ताहरुको सुविधालाई ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन गरिने आयोजकको दाबी छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यू टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिने छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीड–भाड कम गर्न एवम् आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । सोमबारदेखि २५ भाद्रसम्मको अग्रिम अनलाइन टिकट खरिद गर्नु पर्ने छ । ६ दिनसम्म चल्ने उक्त नाडा अटो शो ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजकको अनुमान छ ।