• गृहपृष्ठ
  • वैदेशिक रोजगारीका लागि युरोप पठाउने भन्दै लाखौं ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीका लागि युरोप पठाउने भन्दै लाखौं ठगी गर्ने चार जना पक्राउ

Aug 28th, 2023

काठमाडौं, ११ भदौ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आकर्षक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै रकम असुल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । क्यानडा पठाउने भन्दै पाँच लाख ४५ हजार रुपियाँ ठगी गर्ने नवलपरासी घर भइ हाल टोखा नगरपालिका ३ बस्ने ३० वर्षिय समिर आले मगर पक्राउ परेका छन्।

उनले महेश पौडेलसमेत दुई जनालाई क्यानडामा पुगेपछि मासिक तलव दुई लाख रुपियाँ हुन्छ भनी विश्वास देखाइ प्रलोभनमा पारी पटक पटक गरी सो रकम लिइ मगर सम्पर्कविहिन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ठगी गर्ने चार जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनले क्यानडा जान प्रतिव्यक्ति १५ लाख रुपियाँ लाग्ने वताउँदै आएका थिए । त्यसैगरी नेदरल्याण्ड पठाउने भन्दै तीन लाख ४५ हजार रुपियाँ रकम लिइ सम्पर्कबिहीन भएका स्थायी घर पोखरा भइ हाल ललितपुर बस्ने ४० वर्षीया तारा गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार गुरुङले नेदरल्याण्डको सुपरमार्केटमा मासिक तलव एक लाख रुपियाँ हुन्छ भनी पीडित रविन चौधरीबाट सो रकम लिएका थिए। कुवेत पठाउने भनेर एक लाख ९४ हजार रुपियाँ ठगी गर्ने सल्यान घर भइ हाल भक्तपुर बस्ने ५१ वर्षीय जगतबहादुर खड्काललाई प्रहरीले पक्राउ गरेको छ।

यसैगरी क्रोएसिया पठाउने भन्दै दुई लाख रुपियाँ ठगी गर्ने स्थायी घर रामेछाप भएका हाल गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ। सुनुवारले क्रोएसिया जान सात लाख ५० हजार रुपियाँ लाग्ने र पुगेपछि मासिक एक लाख रुपियाँ भन्दा धेरै मासिक तलव हुने प्रलोभनमा लक्ष्मण हमालबाट सो रकम लिइ सम्पर्कबिहीन भएका थिए।

त्यस्तै कुवेत जान दुई लाख रुपियाँ लाग्ने र पुगेपछि मासिक तलब ५० हजार रुपियाँभन्दा धेरै हुन्छ भनी दीलिप विष्टबाट सो रकम लिइ सम्पर्कविहिन भएका थिए।