• गृहपृष्ठ
  • विदेशको सीप, प्रविधि, अनुभव र पूँजीलाई स्वदेशमा लगा‍औं : अर्थमन्त्री

विदेशको सीप, प्रविधि, अनुभव र पूँजीलाई स्वदेशमा लगा‍औं : अर्थमन्त्री

Aug 27th, 2023

काठमाडौं, भदौ १०

अर्थमन्त्री डा. प्रकाशशरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् ।

क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँगको छलफलमा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् । अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा ऊर्जा, पर्यटन, सूचना प्रविधि एवम् कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीका लागि आकर्षक रहेको मन्त्री महतले बताए ।

नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूरा गर्न नेपाली डायसपोरालाई मद्धत गर्न मन्त्री महतले आग्रह गरे । मन्त्री महतले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचना विना आउने गरेको र विभिन्न समस्यामा परेको बताएका थिए ।

अर्थमन्त्री महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औं विश्व सम्मेलनमा भाग लिन ३ भदौमा क्यानाडा आएका थिए । सोमबार उनी काठमाडौं फर्कंदै छन् ।