• गृहपृष्ठ
  • नेसनल आईसीटी स्कलरसीप–२०८० का लागि आवेदन खुला

नेसनल आईसीटी स्कलरसीप–२०८० का लागि आवेदन खुला

Aug 25th, 2023

काठमाडौं, भदौ ८

कम्प्युटर एसोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ नेसनल आईसीटी स्कलरसीप–२०८० का लागी आवेदन खुल्ला गरेको छ । महासंघले विगत चार वर्षदेखि यो छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । क्यान महासंघले राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने–गराउने कलेजको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको बताएको छ ।

काठमाडौंको मैतिदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यो कार्यक्रम सुरु भएको हो । यो छात्रवृत्ति मार्फत यस वर्ष ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको क्यान महासंघले जनाएको छ ।

स्कलरसीपमा सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १/१ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी सम्पूर्ण प्रदेशबाट ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुराउन यस कार्यले टेवा पुर्‍याउने समेत क्यानको भनाइ छ । चार वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म ११० जना विद्यार्थी अध्ययनरत छन् । यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसीपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिने भएको छ । आईसीटी मेरिट स्कलरसीप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृति प्रदान गरिने भएको छ ।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउने भएका छन् । छात्रवृत्ति प्राप्त विद्यार्थीले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बीएससी आईटी अध्ययन गर्न पाउने भएका छन् ।