संसदमा शून्य समयः कुन सांसदले के भने ?

Aug 24th, 2023

काठमाडौँ ७ भदाै

 प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताएका छन् । बिहीबार दिउँसोबाट सुरु भएको प्रतिनिधिसभाको शून्य समयमा बाेल्दै प्रतिनिधि सभा सदस्य अर्यालले सरकारले श्रमिकहरुको पारिश्रमिक बढाउनु सकारात्मक भएको बताएका हुन् । 

उनले उद्योगी, व्यवसायीले बढेको पारिश्रमिक लागू गर्न नसक्ने बताइरहेको भन्दै बढेको पारिश्रमिक लागू गर्न सरकारले वातावरण बनाइदिनुपर्ने बताए । पारिश्रमिक वृद्धि लागू गर्न नसके राम्रो सन्देश नजाने उनले बताएका छन् । 

उनले भने,– ‘अहिले सामान्य बढेको पारिश्रमिक पनि लागू गर्न सकेनौँ भने पक्कैपनि राम्रो सन्देस जाँदैन । उद्योग, व्यवसाय प्रवद्र्धन गर्नु र श्रमिकका हक, हीतमा पनि काम गर्नु सरकारको दायित्व हो । त्यसैले उद्योगि, व्यवसायीले खुशी खुशी बढेको पारिश्रमिक लागू गर्ने वातावरण सरकारले तयार गरिदिनुपर्छ ।’

प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी ८ वर्ष अघि टिकापुरमा थारुहरुको आफ्नो हक, अधिकार, पहिचान र भुगोलका लागि राजनीतिक आन्दोलन भएको भएपनि थारुहरु जेल जिवन बिताउनुपरेको उल्लेख गर्दै उनीहरुलाई जेलमुक्त गर्न माग गरे । उनले थारुहरुमाथि राज्यले दमन र विभेद गरेको भन्दै थारुहरु पुनः जुर्मुराउनसक्ने बताए । 

प्रतिनिधि सभा सदस्य दीपा शर्माले चिकित्सा शिक्षा र प्राविधिक शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उनले सिटिइभिटी अन्र्तगतबाट सञ्चालित क्याम्पस सञ्चालकहरु आन्दोलित भइरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले भक्तपुरमा बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याइ घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरे । 

उनले भने– ‘भक्तपुरमा सञ्चालित न्युनतम बालबालिकाका लागि सञ्चालित संस्था युसेफमा भदौ ३ गते कमल बस्नेतको मृत्युको घटनालाई लिएर युसेफमा तोडफोड भएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याइ सम्बन्धित निकायमार्फत उक्त घटनामा संलग्नलाई कारबाही र मृत्यु भएको बालकको क्षतिपूर्तिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटको श्रीराम सुगर मिल २ वर्षदेखि बन्द भएको भन्दै तत्काल सञ्चालन गर्न सरकारसँग माग गरे । 

प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका २२ नदीहरुलाई व्यवस्थापन गर्न काठमाडौं उपत्यका नदी व्यवस्थापन गुरु योजना बनाएर काम अगाडी बढाउनुपर्ने बताए । उनले उपत्यकालाई हरियो तथा वातावरणमैत्री बनाउनका लागि सरकारको ध्यानाकर्षण गराए ।  

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरे । उनले शुल्क वृद्धि अस्वभाविक भएको बताए । 

उनले भने – ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान आन्दोलित छ । त्यहाँ झन्डै २०० प्रतिशत शुल्क वृद्धि गरिएको छ । इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने स्थितिमा सञ्चालन हुँदै आएको इन्जिनियरिङ अध्ययन संस्थानमा जुन ढंगबाट शुल्क वृद्धि गरिएको छ । त्यो अस्वभाविक छ । तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरुको मागलाई पुरा गरियोस् । र त्रिभुवन विश्वविद्यालय भद्रगोल ढंगबाट चलिरहेको छ, त्यसलाई सुधार गर्नका निम्ति शिक्षा मन्त्रालयले स्वेतपत्र जारी गरोस् ।’