• गृहपृष्ठ
  • प्याजमा कालोबजारी गर्ने १७ तरकारी व्यापारीलाई कारबाही

प्याजमा कालोबजारी गर्ने १७ तरकारी व्यापारीलाई कारबाही

Aug 23rd, 2023

काठमाडौं ६ भदौ

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउनेगरेकामा दुई दिनदेखि ठप्प छ । गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दातसकिए पछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन ।

यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकामा भारत सरकारले गत शनिबारदेखि ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको हो

भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत देखिएको छ । पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ । कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो । विभागका अनुसार पछिल्लो तीन दिनदेखि प्याजको बजार मूल्य केन्द्रित अनुगमन भइरहेको छ ।

बजार अनुगमनका क्रममा सोमबार तीनजना व्यापारीलाई जनही रू. २० हजार, दुईवटा व्यापारीलाई जनही रू.५० हजारका दरले जरिवाना गरेको थियो भने चारवटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरेकोे थियो । त्यस्तै मङ्गलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिवाना गरिएको थियो भने पाँच व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएकोे थियो ।

आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ । अनुुगमनबाट व्यापारीले प्रतिकिलो रू.४८ मा किनेको प्याज रू ६८.७० सम्ममा बेच्ने गरेको अनुगमनबाट देखिएको छ ।
यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम रू . तीन लाखसम्म जरिवाना गर्ने गरेको विभागले जनाएको छ ।

भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि देखिन थालेको थियो ।भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जनाएको छ ।