• गृहपृष्ठ
  • जग्गा हिनामिना प्रकरणः ४ जना पूर्वमन्त्री सहित २३८ जना प्रतिवादी, १८ अर्बबढी बिगो

जग्गा हिनामिना प्रकरणः ४ जना पूर्वमन्त्री सहित २३८ जना प्रतिवादी, १८ अर्बबढी बिगो

Aug 23rd, 2023

काठमाडौँ ६ भदाै

 बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १८ अर्ब रुपैयाँभन्दा बढी बिगो कायम गरेको छ । संगठित रूपमा जग्गा घोटाला गर्नेहरूविरुद्ध १८ अर्बबढी बिगो कायम गरेर वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको सिआइबीले जनाएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा मंगलबार ७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सिआइबीले जग्गा घोटालामा संलग्न भएका तर, हाल मृत्यु भइसकेकाहरूको सम्पत्तिबाट पनि बिगो भराउनु मागदावी लिनुपर्ने  र पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको छ । 

सीआईबीले यो प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय शाहसहितलाई प्रतिवादी बनाएको छ । पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यात, पूर्वसचिव दिनेशहरि अधिकारी, नारायण गोपाल मलेगुलगायत पनि यसमा प्रतिवादी छन् ।

बालुवाटारको जग्गा हिनामिना प्रकरणमा ‘संगठित किर्ते’ गर्ने भूमिकामा पूर्वमन्त्रीहरू संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ । 

जग्गा घोटामा संलग्न २१ जनाको मृत्यु भएको छ । संलग्न मध्येका पूर्व मुख्य सचिव माधव घिमिरे दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ । चार चरणमा गरेर ललितानिवासको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको  निष्कर्ष छ । 

त्यस्तै, ललिता निवासमा आफूले खरिद गरेको जग्गा ‘फिर्ता गर्छु’ भनेर ४८ जनाले निवेदन दिएका छन् । काठमाडौँ महानगरपालिका–३१ कमलादी घर भएकी सिपीका खेतानसहित निवेदन दिनेहरूलाई प्रहरीले ‘जग्गा फिर्ता प्रयोजनका लागि मात्र’ प्रतिवादी कायम गर्न राय दिएको छ । 

जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।