• गृहपृष्ठ
  • राष्ट्रप्रति चिन्तित राष्ट्रपतिले दलहरूसंग गरे यस्ताे गुनासाे

राष्ट्रप्रति चिन्तित राष्ट्रपतिले दलहरूसंग गरे यस्ताे गुनासाे

Aug 22nd, 2023

काठमाडौँ ५ भदाै

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख राजनीतिक दलका नेतासंग छललफ गरेका छन् । उनले आज शितल निवासमा सर्वदलीय बैठक बाेलाइ दलहरूसंग संविधान र राजनीतिक प्रणालीबारे छलफल गरेका हुन् ।

राष्ट्रपति  पौडेलले संविधानकाे पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको उनले बताएका छन् । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले शक्ति पृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौँ कि छैनौँ भनेर पनि सोच्नुपर्ने बेला भएको बताएका छन् । राष्ट्रपति  पौडेलले भने, “यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईँहरू सबैसँग भेट पनि हु नसकेको थिएन । तपाईँहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्त्वपूर्ण  कानुन बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको उल्लेख गर्दै उनले भने, ‘सत्य निरूपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुङ्गोमा पुग्न सकेको छैन । यतिबेला यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पूरा हुन सक्दैन ।’

नेपाललाई ‘प्रि ग्रे लिस्ट’मा एक वर्षका लागि राख्ने स्थिति अर्को चिन्ताको विषय भएको जनाउँदै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी  कानुन यथाशीघ्र पारित गरेर नेपाललाई कालोसूचीबाट जोगाउने पहलकदमी लिनु सबैको साझा दायित्व हो भन्ने आफूलाई लागेको उल्लेख गरे । 

देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन समयमा पारित गर्न सकिएन भने नेपालमा आउने विदेशी लगानी रोकिन सक्ने र नेपालको साख अन्तर्राष्ट्रिय जगत्मा गिर्न सक्नेतर्फ सचेत भएर ती कानुन बनाउन उनले आग्रह गरे । 

‘जनताका यावत समस्याको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेका बेला सबै दलहरूको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट सन्तोष मिलेको छ । यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्ध संसद् सञ्चालन हुने छ भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा  (माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टीका नेता प्रदीप यादव, जनमत पार्टीका अब्दुल खाँलगायत सहभागी थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सञ्चालन होस् र राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिको शुभेच्छा सकारात्मक रहेको बताए । उनले यसमा कसैले विमति राख्नुपर्ने कारण नभएको जनाउँदै आफूहरू निरन्तर छलफलमा रहेको उल्लेख गरे ।