• गृहपृष्ठ
  • मोटरसाइकलको ब्रेक सुभित्र लुकाएर ल्याएको सुन २४ क्यारेटकाे

मोटरसाइकलको ब्रेक सुभित्र लुकाएर ल्याएको सुन २४ क्यारेटकाे

Aug 21st, 2023

काठमाडौं ४ भदाै

तस्करले हङकङबाट मोटरसाइकलको ब्रेक सुभित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९.९ प्रतिशत भएको परीक्षणबाट पत्ता लागेको छ ।

हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।

उनले उक्त सुन ९९.९ प्रतिशत नै शुद्ध रहेको भनेर राजस्व अनुसन्धान विभागलाई जानकारी गराइएको बताए । “९९.९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो,” उनले भने ।

टक्सार महाशाखाले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ । 

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन पूर्ण शुद्ध रहेको जानकारी पाएको बताए । प्राप्त जानकारीमा उक्त सुन २४ क्यारेटकै रहेको जनाइएको छ ।

बरामद सुन गएको साउन ३० गते गालेर बिस्कुट बनाई जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो । त्यसको अघिल्लो दिन साउन २९ गते ब्रेक सुबाट सुन छुट्ट्याइएको थियो । त्यसरी छुट्ट्याइएको सुन ६० किलो ७८९ ग्राम तौलको थियो । गालेपछि सुनको मात्रा ७३ ग्राम घटेको थियो ।

राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालयअगाडिबाट सुनसहितको १५५ किलो ब्रेक सु बरामद गरेको थियो । सुन तस्करीका विषयमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।