• गृहपृष्ठ
  • भूउपयोग नियमावली पास गरेर जग्गाकाे कित्ताकाट खुलाइयाे

भूउपयोग नियमावली पास गरेर जग्गाकाे कित्ताकाट खुलाइयाे

Aug 15th, 2023

काठमाडौँ ३० साउन

मन्त्रिपरिषद् बैठकले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको छ । मंगलबार सिंहदरबारमा  बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग नियमावली पास गरेर कित्ताकाट खुलाएकाे हाे । 

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ।”

जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ । योसँगै जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि कित्ताकाट हुने भएको छ ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरणलाई लिएर कित्ताकाट रोकेको थियो । आर्थिक मन्दीको कारक जग्गाको कित्ताकाट रहेको निष्कर्षसहित सरकारको तीव्र आलोचना भएपछि सरकार कित्ताकाट रोक्काको निर्णयबाट पछि हटेको हो ।