• गृहपृष्ठ
  • नदीहरूमा बाढीको बहाव उच्च,सप्तकोशीका ५६ वटै ढोका खोलिए

नदीहरूमा बाढीको बहाव उच्च,सप्तकोशीका ५६ वटै ढोका खोलिए

Aug 14th, 2023

काठमाडाै २९ साउन

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर अझै केही दिन सामान्यदेखि पूर्णतया बदली रहने जनाएकाे छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

साेमबार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक – दुई स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ। 

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ ।

सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको जानकारी दिएकी छन्।